बाजुरा, साउन ५ । बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा समयमै उपचार नपाएर दुई जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्।
धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४७८ नम्बरको जिप उकालो चढ्ने क्रममा नियन्त्रण गुमाएर करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ। जिप हिमाली गाउँपालिका–२ का जनवीर बुढाले चलाइरहनुभएको थियो।
दुर्घटनामा हिमाली गाउँपालिका–२ का धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ का अम्मरसिंह बुढाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको सूचना दिउँसो प्राप्त भए पनि दुर्गम भूगोल, कच्ची सडक र यातायातको कठिनाइका कारण उद्धारमा ढिलाइ भएको थियो। एम्बुलेन्स घटनास्थल पुग्न करिब तीन घण्टा लागेको र घाइतेहरूलाई कोल्टी आधारभूत अस्पताल पुर्याउँदासम्म साँझ साढे ७ बजिसकेको थियो। दुर्घटनादेखि अस्पतालसम्म पुग्न झन्डै आठ घण्टा लागेकाले समयमै उपचार नपाउँदा दुई जनाको ज्यान गएको स्थानीयको भनाइ छ।
दुर्घटनामा चालक जनवीर बुढासहित मिजरा बुढा, अस्मिता थापा, जंगसिंह बुढा, गोरख रोकाया, लोकेन्द्र बुढा र सुस्मा बुढा घाइते भएका छन्। उनीहरूको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उकालो चढ्ने क्रममा जिपको ब्रेकले काम नगर्दा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।


















प्रतिक्रिया दिनुहोस्