म्याग्दी/पाकिस्तान र चीनको सीमामा रहेको विश्वकै १२ औं अग्लो शिखर ब्रोड पिकमा बेला बेलामा हिमपहिरो आइरहन्थ्यो । मानवीय क्षति नहुँदा आउने हिमपहिरोको त्यही चर्चा हुदैनथ्यो, नेपालमा हुने कुरै भएन । बिहीबार बिहान आएको हिमपहिरोले भने विश्वकै ध्यान खिचेको छ ।
नेपालको पर्वतारोहण क्षेत्र र नेपालीलाई स्तब्ध बनाएको छ । आठ हजार ४७ मिटर अग्लो यो शिखरमा आएको हिमपहिरोमा कीर्तिमानी आरोही निर्मल पुर्जासहित ५ नेपाली सम्पर्कविहीन छन् । चार जनाको शव फेला परेको छ । हिमपहिरोमा मृत भेटिनेमा गोरखाका पुरबहादुर गुरुङ छन् । उनीसँगै सगरमाथा आरोहण गर्ने पहिलो ओमानी नागरिक नदिरा अल्थानीको शव पनि भेटिएको छ । बाँकी दुई शवको पहिचान हुन बाँकी छ । निर्मलसहित ५ नेपाली सम्पर्कविहीन छन् ।
निर्मलको यो अभियान सामान्य आरोहण थिएन, उनी नयाँ कीर्तिमान बनाउने लक्ष्यमा थिए । निर्मल अक्सिजनको सहारा बिना संसारका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल दोस्रो पटक आरोहण गर्ने पहिलो पर्वतारोही बन्ने यात्रामा थिए । ब्रोड पिकपछि चो ओयु आरोहण सफल भए, उनले असम्भव जस्तै देखिएको इतिहास रच्ने थिए ।
निम्स दाइका नामले चर्चित उनीसहितको टोली बिहीबार करिब ६ हजार ७ सय मिटरमा पुगेका बेला हिमपहिरोमा परेको थियो । जिपिएसले त्यहाँको स्थानीय समयअनुसार बिहान ९ बजेतिर क्याम्प दुई र क्याम्प तीनको बीचमा हिमपहिरो आएको देखाएको छ ।
सम्पर्कविहीनहरुको खोजी जारी छ । त्यस यता उनीहरूसँग सम्पर्कका लागि धेरै प्रयास भए पनि त्यो सार्थक हुन सकेको छैन ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको तितरमा जन्मिएका निर्मल पूर्र्व बेलायती सैनिक हुन् । बेलायती जागिर छाडेर उनी पर्वतारोहणको क्षेत्रमा लागेका हुन् ।
अन्नपूर्ण गाउँपालिका ३ दानाका वडाध्यक्ष रमेश पुर्जा र निर्मलको जन्मघर सँगसँगै हो । दानाको तितरका निर्मल र रमेश संगै खेल्दै हुर्केका हुन् । वडाध्यक्ष रमेशले आफूभन्दा निर्मल केही वर्षमात्रै जेठो भएको बताउँछन् । निर्मलका ३ दाजु र १ बहिनी छन् । माइला दाजु चितवनमा छन् भने जेठा र साहिला दाजु बेलायतमा बसोबास गर्छन् ।
निर्मल सम्पर्कविहीन हुँदा निकै ठूलो अभाव खड्केको वडाध्यक्ष रमेश सुनाउँछन् । ‘विश्वले चिनेको एक व्यक्ति जो दानामा जन्मेको थियो, उही सम्पर्कविहीन हुँदा यो क्षेत्रमा पीडा हुनु स्वभाविक हो,’ उनले भने । अन्नपूर्ण गाउँपालिका ४, नारच्याङका पर्यटन अगुवा तेज गुरुङका अनुसार निर्मल ले अन्नपूर्ण आधार शिविरसम्म पुग्ने पदमार्गका लागि स्थानीयसँग समन्वय गरी काम गर्ने योजनामा थिए । गुरुङ निर्मलसँग मिलेर पर्यटन प्रवद्र्धनका लागि काम गर्ने योजनामा रहेको सुनाउँछन् ।
निर्मल समाजसेवा पनि सक्रिय छन् । बाल्यकालमा पढेको अन्नपूर्ण गाउँपालिका ३ दानाको ज्ञान प्रकाश मावि दानामा अक्षयकोष स्थापना गरेका छन् । उक्त कोषबाट जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गरिँदै आएको छ । पर्यटन अगुवा गुरुङका अनुसार स्थानीय स्तरमा भएको आन्तरिक सहमति अनुसार अन्नपूर्ण हिमशृंखलामा रहेको कुनै एउटा शिखरको नाम निम्सको नामबाट राख्ने योजना बनाइएको थियो ।
गुरुङ भन्छन्, ‘उनको मनमा लागेको काम एक्कासि गरिहाल्ने बानी छ ।’ दानाका पर्यटन व्यवसायी एवं हिमाली क्षेत्रमा उद्धारमा खटिने ईन्द्रसिंह शेरचनले हिमपहिरो आफैंमा निकै खतरनाक हुने हुँदा त्यसमा पर्नेहरु जोगिन मुस्किल हुने सुनाउँछन् । उनी भन्छन्, ‘हिमाल आरोहण नै जोखियुक्त हुन्छ, त्यसमाथि हिमपहिरोमा फस्नु भनेको जीवित भेटिन निकै मुस्किल हुने अवस्था हो ।’
ब्रोड पिक बाहिरबाट हेर्दा सहज देखिए पनि संसारकै सबैभन्दा जोखिमपूर्ण हिमालमध्ये एक मानिन्छ । आरोहणअघि निम्स दाइले सामाजिक सञ्जालमा लेखेका थिए, ‘सुरुमा ग्यासरब्रम–२ (जी२) आरोहण गर्ने योजना थियो । तर यदि यही अवसरमा ब्रोड पिक पनि आरोहण गर्न सकेँ भने त्यसपछि केवल चो ओयुमात्रै बाँकी रहनेछ ।’ उनको यो लेखाइ पर्यटन अगुवा तेज गुरुङको भनाइसँग पनि मेल खान्छ ।
लाप्राकमा शोक
त्यही हिमपहिरोमा परी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४, लाप्राकका पर्वतारोही तथा समाजसेवी पुरबहादुर गुरुङको निधन भएको छ । उनको निधनको खबरसँंगै जन्मथलो लाप्राकसहित समग्र गोरखा शोकमा डुबेको छ ।
उनले विश्वको सर्वोच्च शिखर सगरमाथा १० पटक र आठ हजार मिटरभन्दा अग्ला बिभिन्न हिमाल २८ पटक आरोहण गरेका थिए । लामो समयदेखि अन्तर्राष्ट्रिय हिमाल आरोहण अभियानमा सक्रिय उनको नेपालको पर्वतारहोण क्षेत्रलाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान छ ।
३८ वर्षीय गुरुङका श्रीमती, बुबाआमा र एक छोरा रहेको वडाध्यक्ष किसान गुरुङले जानकारी दिए । एक महिनादेखि पाकिस्तानमा रहेका पुरबहादुर बिहीबार बेलुकासम्म पारिवारको सम्पर्कमा थिए । नेपाल नेसनल माउन्टेन गाइड एसोसियनका प्रशासक सोबित कुँबरले गुरुङको शव यकिन भइसकेको र अब कानुनी प्रक्रिया बाँकी रहेको बताए ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्