काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले पहिचानको अधिकारको सम्मान गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर पार्ने गतिविधिप्रति सचेत रहन आग्रह गरेका छन्। उनले पहिचानको नाममा समाजलाई विभाजित गर्ने वा द्वन्द्वतर्फ धकेल्ने कुनै पनि प्रयास लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताएका छन्।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राईले पहिचानको अधिकार सुनिश्चित हुनु आवश्यक भए पनि अरूको पहिचान र अस्तित्वप्रति समान सम्मान हुनुपर्ने धारणा राखे।
“आफ्नो पहिचानको रक्षा गर्नुपर्छ, तर त्यसका लागि अर्को समुदायको पहिचान अस्वीकार गर्ने वा समाजलाई विभाजन गर्ने काम हुनुहुँदैन,” उनले भने।
‘नेपालको शक्ति विविधतामा छ’
राईले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै यही विविधता नेपालको सबैभन्दा ठूलो शक्ति रहेको बताए।
लोकतन्त्र स्थापनाका लागि प्रथम शहीद लखन थापादेखि इलामको सात खाल्डेका शहीदहरूसम्मले दिएको योगदानको स्मरण गर्दै उनले सबै समुदायको साझा बलिदानबाट आजको लोकतान्त्रिक व्यवस्था स्थापित भएको बताए।
आफू सामान्य किसान परिवारमा जन्मिएर विभिन्न समुदायको संस्कार, संस्कृति र परम्पराका बीच हुर्किएको उल्लेख गर्दै उनले जन्मका आधारमा होइन, विचार र राजनीतिक आस्थाका आधारमा कांग्रेस बनेको बताए।
‘पहिचानको आन्दोलनले अर्को समुदायलाई अस्वीकार गर्नु हुँदैन’
सचेतक राईले आदिवासी जनजातिको पहिचान, अधिकार र प्रतिनिधित्वका पक्षमा पार्टी र राज्यका सबै तहमा संघर्ष जारी रहने प्रतिबद्धता व्यक्त गरे।
तर, पछिल्लो समय पहिचानको नाममा भावनात्मक उत्तेजना फैलाएर समाजमा द्वन्द्व सिर्जना गर्ने प्रयास भइरहेको भन्दै उनले त्यसप्रति सचेत रहन आग्रह गरे।
उनका अनुसार इतिहास र पहिचानलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरेर दल प्रवेश गराउने प्रवृत्तिले सामाजिक सद्भावमा नकारात्मक असर पार्न सक्छ।
“पहिचानको सम्मान र सामाजिक सद्भाव दुवै सँगसँगै अघि बढ्नुपर्छ। यही नेपाली कांग्रेसको मूल दृष्टिकोण हो,” उनले भने।
सरकार जनताको समस्या समाधानमा संवेदनशील नभएको आरोप
कार्यक्रममा राईले नेपाली कांग्रेसको आन्तरिक रूपान्तरणको प्रक्रिया अघि बढिरहेको दाबी गर्दै पार्टीको कार्यशैलीमा परिवर्तन आएको बताए।
साथै, बजारमा बढ्दो महँगी, एलपी ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव र जनजीवनसँग प्रत्यक्ष सम्बन्धित समस्याप्रति सरकार संवेदनशील बन्न नसकेको आरोप लगाए।
उनले सरकारले जनसरोकारका विषयभन्दा अन्य गतिविधिमा बढी ध्यान दिएको टिप्पणी गर्दै कांग्रेसका नेता–कार्यकर्तालाई संसद् र सामाजिक सञ्जाल दुवै माध्यमबाट सरकारलाई निरन्तर खबरदारी गर्न आग्रह गरे।
“जनताको दैनिक जीवनसँग जोडिएका समस्यामा सरकारलाई उत्तरदायी बनाउन सदनभित्र र सदनबाहिर निरन्तर आवाज उठाउनुपर्छ,” उनले कार्यकर्तालाई आग्रह गरे।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्