काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा शनिबार र आइतबार केही घण्टाका लागि विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। भूमिगत वितरण प्रणाली विस्तार तथा मर्मतसम्भारका विभिन्न प्राविधिक काम गर्नुपर्ने भएकाले विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको हो।
प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्र तथा काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भूमिगत केबल जडान, केबल चार्जिङ, पोल ठड्याउने, स्ट्रक्चर फिटिङ तथा फिडर मर्मतको काम गरिने भएकाले सम्बन्धित क्षेत्रमा अस्थायी रूपमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।
शनिबार यी क्षेत्रमा ६ घण्टा विद्युत् बन्द
प्राधिकरणका अनुसार साउन २३ गते शनिबार भीमसेनस्थान फिडरअन्तर्गत पर्ने टेकू, काठमाडौं महानगरपालिका–१२ वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, वडा नं. २१ कार्यालय, १२ वर्षे इनार, पलान्चोक भगवती मन्दिर तथा आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ।
त्यसैगरी डिल्लीबजार फिडर अन्तर्गतका कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।
आइतबार लाजिम्पाट क्षेत्रमा विद्युत् कटौती
प्राधिकरणका अनुसार साउन २४ गते आइतबार लाजिम्पाट फिडर अन्तर्गत पर्ने लैनचौर, खुर्सानीटार, पुरानो प्रचण्ड निवास क्षेत्र, र्याडिसन होटल, लाजिम्पाट मेन रोड लगायत आसपासका क्षेत्रमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।
काम सकिएपछि सेवा छिट्टै सुचारु हुने
नेपाल विद्युत् प्राधिकरणले निर्धारित प्राविधिक कार्य समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति पनि तोकिएको समयभन्दा अघि नै पुनः सञ्चालन गरिने जनाएको छ।
प्राधिकरणले सम्बन्धित क्षेत्रका उपभोक्तालाई विद्युत् अवरोधको समयलाई ध्यानमा राखी आवश्यक तयारी गर्न आग्रह गरेको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्