काठमाडौं । दैलेखमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटना शुक्रबार दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर बजारस्थित कर्णाली राजमार्गमा भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) जयसिंह गुरुङका अनुसार दुर्घटनामा कैलालीको गोदावरी नगरपालिका–८ निवासी ४१ वर्षीय प्रेमबहादुर रोकाय क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको भे १ ख ३७१० नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको भे १४ प ६७१४ नम्बरको मोटरसाइकल तल्लो डुङ्गेश्वर बजारस्थित पुलमा एकापसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल ट्रकमा च्यापिँदा चालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले जनाएको छ।
प्रहरीले दुर्घटनास्थलको मुचुल्का तयार गरी मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ। साथै दुर्घटनाको वास्तविक कारण खुलाउन थप अनुसन्धान अघि बढाइएको छ।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्