काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता देखिएको खाना पकाउने एलपी ग्यासको अभाव क्रमशः हट्दै गएको छ। नेपाल आयल निगमले भारतबाट ग्यास आयातको मात्रा बढाउँदै वितरण प्रणालीलाई थप प्रभावकारी बनाएपछि बजारमा आपूर्ति सहज बन्दै गएको जनाएको छ।
निगमका अनुसार गत असार ३१ गतेदेखि पुनः १४.२ किलोग्राम क्षमताको एलपी ग्यास सिलिन्डर बिक्री सुरु गरिएपछि एक्कासि माग बढ्दा केही दिन आपूर्ति व्यवस्थापनमा चुनौती देखिएको थियो। तर अहिले दैनिक आयात बढेकाले अवस्था सामान्य बन्दै गएको छ।
नेपाल आयल निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले सुरुआती चरणमा देखिएको समस्या क्रमशः समाधान हुँदै गएको जानकारी दिए। उनका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)बाट दैनिक १०० भन्दा बढी बुलेट ग्यास नेपाल भित्रिरहेका छन्।
“७.१ किलोबाट १४.२ किलो सिलिन्डरमा फर्किँदा केही असन्तुलन देखिएको हो। अहिले आयात नियमित छ र बढीमा एक साताभित्र ग्यास वितरण पूर्ण रूपमा सहज हुने अपेक्षा गरेका छौं,” उनले भने।
निर्देशक उपाध्यायले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न आग्रह गर्दै कृत्रिम अभाव सिर्जना नगर्न सबैलाई सचेत रहन अनुरोध गरे।
आधा सिलिन्डरप्रति उपभोक्ताको आकर्षण कम
पश्चिम एसियामा उत्पन्न अस्थिरताका कारण सम्भावित आपूर्ति संकटलाई ध्यानमा राख्दै निगमले गत फागुन २९ गतेदेखि ७.१ किलोग्राम क्षमताको आधा सिलिन्डर बिक्री सुरु गरेको थियो। त्यसले तत्कालीन अभाव केही हदसम्म समाधान गरे पनि अधिकांश उपभोक्ताले पुनः १४.२ किलो सिलिन्डरको प्रतीक्षा गर्दा बजारमा माग–आपूर्तिमा असन्तुलन आएको उद्योगीहरूको भनाइ छ।
निगमका अनुसार चार महिनाको अवधिमा आधा सिलिन्डर वितरण गरिँदा ग्यासको कुल आयात करिब ५० हजार मेट्रिक टनले घटेको थियो।
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले अहिले आयात निरन्तर बढेकाले वितरण सहज बन्दै गएको बताए। उनले अत्यावश्यक उपभोक्तालाई प्राथमिकता दिन र अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न आग्रह गरे।
नेपाल आयल निगमका अनुसार गत आर्थिक वर्षको साउनमा ४४ हजार ३१८ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो। चालु आर्थिक वर्षको साउनको पहिलो २२ दिनमै ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भइसकेको छ।
हालको आयात दर कायम रहे साउन महिनाभरमा करिब ५४ देखि ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान निगमले गरेको छ, जुन विगतको तुलनामा उल्लेखनीय वृद्धि हो।
यसैबीच सरकारले आगामी दसैं–तिहारजस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै भारतसँग तीन महिनाका लागि अतिरिक्त ग्यास कोटा उपलब्ध गराउने विषयमा कूटनीतिक पहल गरिरहेको जनाएको छ।
देशभर ५८ उद्योग, भण्डारण क्षमता पर्याप्त
हाल नेपालमा ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। ती उद्योगमा १० हजार १६६ मेट्रिक टन ग्यास भण्डारण क्षमता रहेको छ भने दैनिक करिब १ करोड ७५ लाख सिलिन्डर भर्ने क्षमता रहेको निगमले जनाएको छ।
ग्यास वितरण सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव स्वयं अनुगमनमा सक्रिय भएकी छन्। शनिबार उनले बालाजुस्थित नेपाल ग्यास उद्योग तथा टेकुस्थित विभिन्न बिक्री केन्द्रको निरीक्षण गर्दै बोटलिङ र वितरण प्रक्रियाबारे जानकारी लिएकी थिइन्।
अनुगमनका क्रममा ग्यासको कृत्रिम अभाव वा कालोबजारी भएको प्रमाण नभेटिएको निगमले जनाएको छ। मन्त्री यादवले उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्न निगमलाई निर्देशन दिएकी छन्।
‘क्विक रेस्पोन्स टिम’ले ५०० भन्दा बढी गुनासा समाधान गर्यो
उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्न निगम, उद्योग मन्त्रालय र निजी क्षेत्रका प्रतिनिधि सम्मिलित ‘क्विक रेस्पोन्स टिम’ गठन गरिएको छ।
आपूर्ति मन्त्रालयका शाखा अधिकृत दुर्गादत्त भट्टका अनुसार टोलीले हालसम्म ५०० भन्दा बढी उपभोक्ता गुनासा सम्बोधन गरिसकेको छ।
उनले भने, “कुनै उपभोक्ताको चुलो निभ्न नपरोस् भन्ने उद्देश्यले गुनासो प्राप्त हुनेबित्तिकै आवश्यक सहजीकरण गरिरहेका छौं।”
ग्यासको माग र आपूर्तिबीच देखिएको अस्थायी असन्तुलन अब क्रमशः हट्दै गएको भन्दै निगमले आगामी केही दिनभित्र देशभर आपूर्ति पूर्ण रूपमा सामान्य हुने विश्वास व्यक्त गरेको छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्