पश्चिम नवलपरासी । मानसिक स्वास्थ्यमा समस्या देखिएपछि करिब एक दशकदेखि घरमै सिक्रीले बाँधिएर बस्न बाध्य ३५ वर्षीय ओमप्रकाश राजभरले अन्ततः बन्धनबाट मुक्ति पाएका छन्।
सरावल गाउँपालिका–५, फुलवरियाका राजभरलाई स्थानीय सरकारको पहलमा उद्धार गरी रुपन्देहीको तिलोत्तमा नगरपालिका–६, पश्चिम पहुनीस्थित मानव सेवा आश्रममा पुर्याइएको छ। आर्थिक अभावका कारण परिवारले लामो समयसम्म उनको उपचार र उचित हेरचाह गर्न सकेको थिएन।
करिब १० वर्षअघि रोजगारीका लागि विदेशमा रहेका बेला पारिवारिक घटनापछि उनी गहिरो मानसिक तनावमा परेको परिवारजनले बताएका छन्। विदेशबाट फर्किएपछि मानसिक अवस्था बिग्रँदै गएपछि नियन्त्रण गर्न नसकिएको भन्दै परिवारले उनलाई सिक्रीमा बाँधेर राख्ने गरेको थियो।
उनको अवस्थाबारे वडा अध्यक्ष लक्ष्मण चौधरीमार्फत जानकारी पाएपछि गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले उद्धारको पहल गरेका थिए। अध्यक्ष चौधरीकै उपस्थितिमा गाउँपालिकाको एम्बुलेन्समार्फत राजभरलाई मानव सेवा आश्रम पुर्याइएको हो।
आश्रममा अब उनलाई आवश्यक संरक्षण, हेरचाह र उपचारको व्यवस्था गरिनेछ। गाउँपालिकाले उपचारसँगै परिवारसँग पुनर्मिलन गराउन आवश्यक सहयोग र समन्वय गर्ने जनाएको छ। स्थानीय सरकारको यो पहलले मानसिक स्वास्थ्य समस्या भएका नागरिकलाई बन्धनमा राख्नुको सट्टा उपचार, संरक्षण र मानवीय हेरचाह आवश्यक रहेको सन्देश दिएको छ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्