लमजुङ । राइनास नगरपालिका–६ फूलबारीमा ७५ वर्षीया काली सार्की घरभित्रै मृत फेला परेकी छन्।
शनिबार राति आफ्नै घरको कोठामा खाटमुनि मृत अवस्थामा फेला परेकी सार्कीको घाँटीमा धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
सार्कीका श्रीमान् र छोराको यसअघि नै मृत्यु भइसकेको थियो भने छोरी विवाह गरेर गएपछि उनी घरमा एक्लै बस्दै आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार शनिबार राति करिब ९ बजे घटनाबारे प्रहरीलाई जानकारी आएको थियो। त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो।
प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक निरीक्षणमा सार्कीको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको छ। घटना शंकास्पद रहेकाले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए।
घटनाबारे मृतकको घरमा कोठा भाडामा लिएर बस्दै आएका दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय देवराज मगरले प्रहरीलाई जानकारी गराएका थिए।
मगर करिब दुई वर्षदेखि उक्त घरमा बस्दै आएका थिए। केही दिनअघि कामको खोजीमा मनाङ गएका उनी शनिबार घर फर्किएपछि वृद्धालाई मृत अवस्थामा देखेर प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्