काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत सुधार र लगानी विस्तारलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै भट्टले विगतमा नीतिगत सुधार र लगानी वृद्धि भएका समयमा नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गरेको अनुभव सुनाए ।
नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धिदर करिब ४ प्रतिशत रहेको उल्लेख गर्दै उनले नीतिगत हस्तक्षेप र लगानी विस्तार भएका केही वर्षमा वृद्धिदर ७ प्रतिशतसम्म पुगेको बताए ।
२०४१/४२ सालमा सुरु भएको उदारीकरण र २०४८/४९ सालको नीतिगत सुधारले आर्थिक वृद्धिको आधार विस्तार गरेको उनको भनाइ छ । यस्तै, २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा लगानी बढ्दा लगातार तीन वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको उनले स्मरण गरे ।
नेपालको अहिलेको आर्थिक वृद्धिको मुख्य आधार पुँजी र श्रमशक्ति मात्रै रहेको भन्दै भट्टले उत्पादकत्व बढाउन प्रविधि र कार्यसंस्कृतिमा सुधार आवश्यक रहेको बताए । नेपालको कुल कारक उत्पादकत्व करिब शून्य दशमलव २ प्रतिशत मात्रै रहेको उनको भनाइ छ ।
हाल फिक्स्ड क्यापिटल फर्मेसन कुल गार्हस्थ्य उत्पादनको करिब २६ प्रतिशत रहेको उल्लेख गर्दै उनले यसलाई ३० प्रतिशतसम्म पुर्याउन सके पुनः ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने दाबी गरे ।
बढ्दो वैदेशिक पलायन र न्यून जनसंख्या वृद्धिदरका कारण दक्ष जनशक्तिको अभाव चुनौती बन्दै गएको भन्दै भट्टले शिक्षा, स्वास्थ्य र सीप विकासमा लगानी बढाउनुपर्ने बताए ।
आर्थिक विकासका लागि डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सबाट प्राप्त अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए ।
सुशासन र समृद्धि एकअर्काका परिपूरक रहेको बताउँदै भट्टले प्रभावकारी नीति, बलियो संस्थागत संरचना, पुँजी वृद्धि, दक्ष जनशक्ति निर्माण र प्रविधिमा लगानीमार्फत मात्रै नेपालको उत्पादकत्व र प्रतिव्यक्ति आय बढाउन सकिने बताए ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्