काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीको आगामी १५औँ महाधिवेशनको तयारी र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भइरहेको कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरले जानकारी दिएका छन्।
बैठकमा महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका निर्माण, सदस्यता अद्यावधिक र वितरणलगायत विषयमा छलफल हुने जनाइएको छ। यस्तै, महाधिवेशन तयारी समिति गठन तथा केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने प्रस्ताव पनि बैठकमा रहेको छ।
कांग्रेसका अनुसार तराई–मधेस क्षेत्रमा पछिल्लो समय भएका घटनाक्रम, सरकारको १०० दिनको समीक्षा र विपक्षी दलको भूमिकाबारे पनि बैठकमा छलफल हुनेछ।
प्रदेश सरकार, पार्टीको संगठनात्मक अवस्था तथा समसामयिक राजनीतिक विषयमा समेत बैठक केन्द्रित हुने जनाइएको छ। साथै भ्रातृ संस्थाका विधानलगायत विषयमा पनि छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्