काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र बेलायतबीच भएको १८१६ को सुगौली सन्धि तथा नेपाल–भारतबीच भएको १९५० को शान्ति तथा मैत्री सन्धिका औपचारिक सम्झौताका सक्कली अभिलेख नेपाल सरकारसँग छन् कि छैनन् भन्नेबारे यकिन जानकारी नरहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले बेलायतसँगको १८१६ को सुगौली सन्धि र भारतसँगको १९५० को नेपाल–भारत मैत्री सन्धिको ‘ओरिजिनल कपी’ नेपालसँग छ कि छैन भनेर प्रश्न गरेका थिए।
जवाफमा परराष्ट्रमन्त्री खनालले नेपालसँग दुवै सन्धिसँग सम्बन्धित केही दस्तावेज रहेको जानकारी भए पनि ती औपचारिक सन्धिका मूल दस्तावेज हुन् वा होइनन् भन्ने यकिन नभएको बताए।
‘मेरो जानकारीमा आएअनुसार हामीसँग १८१६ को सुगौली सन्धि र १९५० सँग सम्बन्धित केही दस्ताबेजहरू छन्। तर, सन्धिका औपचारिक दस्ताबेज छन्/छैनन् भन्ने नेपाल सरकारसँग यकिन जानकारी छैन,’ मन्त्री खनालले भने।
उनका अनुसार राष्ट्रिय अभिलेखालयमा यी सन्धिसँग सम्बन्धित दस्तावेजहरू रहेको जानकारी सरकारसँग छ। तर अभिलेखालयमा रहेका ती सामग्री नै सम्बन्धित सन्धिका औपचारिक मूल प्रति हुन् कि अन्य प्रकृतिका दस्तावेज हुन् भन्नेबारे स्पष्टता हुन सकेको छैन।
ऐतिहासिक सन्धिका अभिलेखमै प्रश्न
नेपालको आधुनिक कूटनीतिक तथा भूराजनीतिक इतिहासमा महत्वपूर्ण मानिने दुई सन्धिका मूल अभिलेखबारे सरकारसँगै स्पष्ट जानकारी नभएको विषय प्रतिनिधिसभामा उठेपछि नेपालको अभिलेख व्यवस्थापन र ऐतिहासिक दस्तावेज संरक्षण प्रणालीमाथि पनि प्रश्न उठेको छ।
सुगौली सन्धिले नेपाल–ब्रिटिस इस्ट इन्डिया कम्पनीबीचको सम्बन्धलाई पुनःपरिभाषित गरेको थियो भने १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि दुई देशबीचको आधुनिक सम्बन्धको महत्वपूर्ण आधार मानिन्छ।
यस्ता ऐतिहासिक तथा रणनीतिक महत्वका दस्तावेजको मूल प्रति कहाँ छ, राष्ट्रिय अभिलेखालयमा सुरक्षित सामग्रीको आधिकारिक हैसियत के हो र नेपाल सरकारसँग त्यसको प्रमाणित अभिलेख उपलब्ध छ कि छैन भन्ने विषयमा अब थप खोजी र अभिलेखीकरण आवश्यक देखिएको छ।
परराष्ट्रमन्त्रीको जवाफपछि यी दुई महत्वपूर्ण सन्धिका मूल दस्तावेजको अवस्था र संरक्षणबारे थप विवरण सार्वजनिक गर्नुपर्ने आवश्यकता समेत देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्