काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ को तयारी भृकुटीमण्डपमा तीव्र गतिमा भइरहेको छ। प्रदर्शनीस्थलमा स्टल निर्माणदेखि अन्य व्यवस्थापनका कामहरू अन्तिम चरणमा पुगेका छन्।
साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ५२ वटा स्टल रहनेछन् भने ५५ भन्दा बढी ब्रान्ड सहभागी हुने आयोजकले जनाएको छ। चारपांग्रे र दुईपांग्रे सवारीसाधनसँगै मोबिलिटी क्षेत्रसँग सम्बन्धित विभिन्न उत्पादन, सेवा र नवीन प्रविधि प्रदर्शनीमा समावेश गरिनेछन्।
एक्स्पोको मुख्य आकर्षणका रूपमा ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिने तयारी गरिएको छ। नेपालमा पहिलोपटक सार्वजनिक हुने तथा बजारमा प्रवेशको तयारीमा रहेका विभिन्न मोडलहरू एक्स्पोमार्फत उपभोक्तामाझ प्रस्तुत गरिनेछन्। यसले नेपाली अटोमोबाइल बजारमा आउँदै गरेका नयाँ प्रविधि र सवारीबारे प्रत्यक्ष जानकारी लिन उपभोक्तालाई अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रविधि र भविष्यको यातायातमा केन्द्रित
प्रदर्शनीमा सवारीसाधन प्रदर्शनसँगै मोबिलिटी क्षेत्रमा भइरहेको प्रविधिगत विकासबारे जानकारी दिने ‘लर्निङ सेसन’ पनि आयोजना गरिनेछ। विद्युतीय सवारीसाधन, स्मार्ट मोबिलिटी, अत्याधुनिक अटोमोबाइल प्रविधि तथा भविष्यको यातायात प्रणालीजस्ता विषयमा विशेषज्ञहरूको प्रस्तुति रहने जनाइएको छ।
आयोजकका अनुसार एक्स्पोलाई केवल सवारीसाधन प्रदर्शनीमा सीमित नराखी नेपालमा विकसित हुँदै गएको मोबिलिटी इकोसिस्टम, नवप्रवर्तन र प्रविधिबारे जानकारी आदानप्रदान गर्ने साझा प्लेटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।
डेढ लाखभन्दा बढी दर्शकको अपेक्षा
छ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनीमा विभिन्न अटोमोबाइल ब्रान्ड, विद्युतीय सवारीसाधन, दुईपांग्रे तथा व्यावसायिक सवारीसाधनका साथै मोबिलिटीसँग सम्बन्धित प्रविधि र सेवाहरूको व्यापक सहभागिता रहनेछ।
भृकुटीमण्डपमा स्टल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेका छन् भने सहभागी कम्पनीहरूले आफ्ना नयाँ उत्पादन र प्रविधि प्रदर्शनका लागि अन्तिम तयारी गरिरहेका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्