काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा मंगलबार (साउन २६) बयानका लागि विशेष अदालतमा उपस्थित भएका छन्।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा गोल्छाको बयान भइरहेको छ। बयान सकिएपछि आजै थुनछेकसम्बन्धी बहस सुरु हुने बताइएको छ।
वादी र प्रतिवादीतर्फको बहस सकिएपछि अदालतले गोल्छालाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारिखमा राख्ने विषयमा निर्णय गर्नेछ।
गोल्छासहितको उक्त मुद्दामा दीपक भट्ट, शुलभ अग्रवाललगायत ३४ जना व्यक्ति तथा पाँच कम्पनीलाई प्रतिवादी बनाइएको छ।
५२ करोड ५० लाख बिगो दाबी
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर गरिएको मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
त्यस्तै, दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा र शुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बिगो दाबी गरिएको छ।
अब विशेष अदालतमा हुने थुनछेक बहसपछि गोल्छाको मुद्दामा तत्कालको न्यायिक प्रक्रिया कुन दिशामा अघि बढ्ने भन्ने टुंगो लाग्नेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्