काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता बेइजिङ अटोमोटिभ ग्रुप कम्पनी (बीएआईसी)ले आफ्नो हाइब्रिड एसयूभी बीजे–३० ई नेपालमा सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटीले नाइमा मोबिलिटी एक्स्पोमा उक्त एसयूभी सार्वजनिक गरेको हो।
अफरोड डिजाइन र हाइब्रिड प्रविधिको संयोजन गरिएको बीजे–३० ईमा १.५ लिटर टर्बो पेट्रोल इन्जिनसँग डुअल इलेक्ट्रिक मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यसले ४०९ हर्सपावर शक्ति र ६८५ न्युटन मिटर टर्क उत्पादन गर्छ।
अफरोड क्षमतासहितको हाइब्रिड एसयूभी
बीजे–३० ईमा बीएआईसीको ‘म्याजिक कोर डीएचइभी’ हाइब्रिड प्रणाली प्रयोग गरिएको छ। शहरी सडकदेखि अफरोड यात्रासम्मलाई लक्षित गरी तयार पारिएको यो एसयूभीमा २१५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, विभिन्न ड्राइभिङ मोड र अफरोड क्षमतासहितको मजबुत बडी स्ट्रक्चर रहेको कम्पनीले जनाएको छ।
इन्टेरियरमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ। प्रिमियम केबिनका साथै आधुनिक कनेक्टिभिटी सुविधासमेत उपलब्ध छन्।
मूल्य १ करोड १९ लाख ९६ हजार
बीएआईसी चीनका ठूला अटोमोबाइल समूहहरूमध्ये एक हो। कम्पनीले एसयूभी, अफरोड तथा विद्युतीय सवारीसाधन उत्पादन गर्दै आएको छ।
नेपालमा सार्वजनिक गरिएको बीजे–३० ईको मूल्य १ करोड १९ लाख ९६ हजार रुपैयाँ तोकिएको लक्ष्मी ई–मोबिलिटीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्