काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनकी ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन लेभिटले यही अगस्टको अन्त्यमा पदबाट राजीनामा दिने भएकी छन्। उनले परिवारलाई थप समय दिन पद छाड्ने निर्णय गरेकी हुन्।
ट्रम्प प्रशासनमा करिब १८ महिना प्रेस सचिवका रूपमा काम गरेकी लेभिटले आफ्नो कार्यकाललाई जीवनकै सबैभन्दा सम्मानित र अविस्मरणीय अनुभवका रूपमा वर्णन गरेकी छन्।
राष्ट्रपति ट्रम्पले बुधबार सामाजिक सञ्जालमार्फत लेभिटले अगस्टको अन्त्यमा पद छाड्ने जानकारी दिएका हुन्। उनले लेभिटको योगदानको प्रशंसा गर्दै पदबाट अलग भए पनि उनी रिपब्लिकन पार्टीकी शीर्ष सल्लाहकारका रूपमा सक्रिय रहने बताएका छन्।
लेभिटले पद छाड्ने निर्णयलाई ‘मिठो–तीतो’ अनुभवका रूपमा उल्लेख गरेकी छन्। उनले विगत डेढ वर्ष ह्वाइट हाउसको प्रेस सचिवका रूपमा काम गर्न पाउनु आफ्नो जीवनकै ठूलो सम्मान र रोमाञ्चक अनुभव भएको बताएकी छन्।
ओभल अफिसमा बिताएको समय, राष्ट्रपति ट्रम्पसँग विभिन्न देशको भ्रमण र अमेरिकी जनतासमक्ष राष्ट्रपतिको सन्देश पुर्याउने अवसरका लागि उनले आभार व्यक्त गरेकी छन्।
लेभिट ह्वाइट हाउसको इतिहासमा सबैभन्दा कम उमेरमा प्रेस सचिव बनेकी अधिकारी हुन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्