काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको भनी गरेको दाबी अस्वीकार गरेको छ। तेहरानले आफ्ना सर्त पूरा नभएसम्म रणनीतिक जलमार्ग बन्द रहने जनाएको छ।
पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पीजीएसए)ले बुधबार जारी गरेको विज्ञप्तिमा अमेरिकी अधिकारीको दाबीले वास्तविक अवस्था परिवर्तन गर्न नसक्ने बताएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसिन रेजाईले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म होर्मुज जलमार्ग बन्द रहने बताएका छन्। उनका अनुसार इरानका जफत गरिएका सम्पत्ति फिर्ता गर्नुपर्ने तथा लेबनान र गाजासहित विभिन्न क्षेत्रमा युद्धविरामका लागि सहमति हुनुपर्ने इरानको सर्त छ।
ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै होर्मुज जलमार्गमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबी गरेका थिए।
उनले अमेरिकी नौसैनिक नाकाबन्दीलाई ‘स्टिलको पर्खाल’को संज्ञा दिँदै इरानले त्यसविरुद्ध केही गर्न नसक्ने बताएका थिए।
तर इरानले भने अमेरिकाको यस्तो दाबीलाई अस्वीकार गर्दै जलमार्ग सञ्चालनसम्बन्धी निर्णय आफ्नो सर्तअनुसार हुने स्पष्ट पारेको छ।
विश्व ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण
होर्मुज जलमार्ग विश्वकै महत्वपूर्ण रणनीतिक समुद्री मार्गमध्ये एक हो। यस मार्गबाट विश्वव्यापी पेट्रोलियम व्यापारको करिब २० प्रतिशत हिस्सा ओहोरदोहोर हुने भएकाले यहाँको तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार र विश्व अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।
अमेरिका र इरानबीच होर्मुजलाई लिएर बढेको दाबी–प्रतिदाबीले क्षेत्रीय तनाव थप चर्किन सक्ने चिन्ता बढाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्