काठमाडौं । नेपाली कांग्रेस कोसी समन्वय समिति संयोजक गोमा भट्टराईले पार्टीलाई एकताबद्ध बनाउन आफूहरू राष्ट्रिय भेलामा सहभागी भएको बताएकी छन्।
काठमाडौँमा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भट्टराईले नेपाली कांग्रेसलाई एकताबद्ध बनाउन तथा पार्टीको विधान, विधि र नीतिको पालना गराउन आफूहरू भेलामा उपस्थित भएको बताइन्।
उनले भनिन्, “राष्ट्रिय सम्मेलन गरेर पार्टीलाई एकताबद्ध गर्न हामी यहाँ उभिएका छौँ। नेपाली कांग्रेसलाई जुटाउनका लागि, विधान, विधि र नीतिलाई मान्नका लागि हामी यहाँ उपस्थित भएका हौँ।”
विधान मिचेर विशेष महाधिवेशन गर्ने पक्षले ऐतिहासिक भूल गरेको उनको टिप्पणी थियो। कांग्रेस एकताबद्ध नभएसम्म मुलुकले निकास पाउन नसक्ने उनको भनाइ छ।
पार्टीभित्र देखिएको विवाद संवाद र छलफलमार्फत समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा भट्टराईले जोड दिइन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्