डडेल्धुरा । खगराज भट्टको नेतृत्वमा गठित सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेले एक राज्यमन्त्रीसहित चार मन्त्री पाएको छ।
मुख्यमन्त्री भट्टले पदभार ग्रहण गरेसँगै सत्ता साझेदार दल एमालेबाट नियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन्।
एमालेका चक्र मल्ललाई आर्थिक मामिला तथा योजना मन्त्री, सन्तोष शर्मा थापालाई सामाजिक विकासमन्त्री र दमन भण्डारीलाई भूमि व्यवस्था तथा सहकारीमन्त्रीको जिम्मेवारी दिइएको छ। त्यस्तै, जानकी बम ऐरलाई आर्थिक मामिला राज्यमन्त्री नियुक्त गरिएको छ।
नयाँ अनुहारलाई अवसर
एमालेले यसपटक सरकारमा नयाँ सांसदहरूलाई सहभागी गराएको छ। मन्त्री बनेका सबै सदस्य हालै सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ सांसद रहेको बताइएको छ।
पार्टीले अनुभवी नेताभन्दा युवा तथा नयाँ अनुहारलाई प्राथमिकता दिँदै प्रदेश सरकारमा सहभागी गराएको हो। नयाँ नेतृत्वलाई अवसर दिएर सरकारको कामलाई प्रभावकारी बनाउने एमालेको रणनीति देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्