काठमाडौं, ३ बैशाख । सातवटै प्रदेश सरकारले चैतभित्रै बजेट ल्याउने भने पनि १ र ५ बाहेकका अरु प्रदेशको बजेट अझै आउन सकेको छैन । यसअघि चैतको मध्यभित्रै त्यसपछि चैत मसान्तभित्रै बजेट ल्याउने भने थिए तर पाँचवटा प्रदेश सरकारले ढिलाई गरका छन्।
बजेट नबनाइ खर्च गर्न नपाउने कानुनी बाध्यताका कारण प्रदेश सरकारलाई बजेट ल्याउनैपर्ने बाध्यता छ । प्रदेश १ र ५ ले बाहेक अरु बाँकी प्रदेशले वैशाख पहिलो हप्ता बजेट ल्याउने तयारी गरेका छन् । चालु आर्थिक वर्ष २०७४÷७५ सकिन तीन महिनामात्रै बाँकी रहेको छ ।
प्रदेश १ को बजेट
प्रदेश १ को सरकारले चालु आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गरेको छ । १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट तीन महिनाका लागि मात्रै हो । यो बजेट संघीय सरकारबाट समानीकरण अनुदान बापत प्राप्त भएको हो । प्रदेशसभाको बैठकमा बिहीबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रदेश २
प्रदेश २ ले चैत २५ मै बजेट ल्याउने गरी तयारी गरेको थियो । तर बजेट भने यही हप्ताभित्र आउने भएको छ । अर्थमन्त्री विजय यादवले चैतभित्र बजेट ल्याउन नसकिएको बताउनुभयो ।
प्रदेश ३
प्रदेश ३ ले चैत २५ भित्रै बजेट ल्याउने भने पनि ढिलाई भएको छ । सम्बन्धित मन्त्रालय तयारी अवस्थामा रहे पनि सरकारले मिति भने तय गरेको छैन ।
प्रदेश ४
प्रदेश ४ ले पनि चैतमा बजेट ल्याउन सकेन । यसअघि चैत अन्तिम हप्ता बजेट ल्याउने भनेपनि ढिलाइ भएको हो । सरकारको नीति तथा कार्यक्रममा कृषि, खनिज र पर्यटनलाई उच्च प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम संसदबाट पारित गरेपछि सरकारले आर्थिक वर्ष २०७४÷७५ को बजेट ल्याउनेछ ।
प्रदेश ५
प्रदेश ५ को सरकारले चालु आर्थिक वर्षको तीन महिनाका लागि अस्ती शुक्रबार बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना विकास मन्त्री शंकर पोखरेलले १ अर्ब २ करोड ५ लाख रुपैयाँ बराबरको बजेट प्रदेशसभामा पेश गर्नुभएको हो । ‘संमृद्ध प्रदेश सुखी जनता’ को नारा सहित बजेटमा सहकारी विकास कोष स्थापना, कृषि, पशुपालन, मत्स्यपालन व्यवसायमा प्रोत्साहन जस्ता विषयले प्राथमिकता पाएका छन् । दाङको घोराही र बुटवलमा रंगशाला निर्माण, प्रदेश सूचना केन्द्र स्थापनाका लागि अध्ययन, रामग्रामदेखि तिलौराकोटसम्म मोनोरेलको सम्भावना अध्ययन, लुम्बिनी क्षेत्रमा पर्यटकको बसाई अवधि बढाउने सम्भाव्यता अध्ययनका साथै जगदिशपुर ताल संरक्षण कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।
प्रदेश नं ६
कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चैत मसान्तभित्र बजेट र श्वेतपत्र ल्याउने तयारी गरेको थियो । तर रारा पर्यटन वर्ष महोत्सवका कारण बजेट प्रभावित भएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताउनुभयो । रारा पर्यटन वर्ष महोत्सव शनिबार देखि सुरु भएको छ । बजेट सार्वजनिक गर्ने तयारी भैरहेको पनि जानकारी दिनुभयो ।
प्रदेश ७ को बजेट पनि यही हप्ताभित्र आउने
प्रदेश ७ को बजेट पनि वैशाख पहिलो हप्ताभित्रै आउने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले चैत मसान्तसभित्र बजेट ल्याउने तयारी हुँदाहुँदै पनि नसकिएको बताउनुभयो । यो बजेट प्रदेश सरकारको पहिलो बजेट पनि हो । प्रदेश सरकारले असार १ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस्