सुलीकोट, गोरखा । गोरखाको सडक पूर्वाधार विकासमा पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति भएको छ। पूर्वाधार विकास कार्यालय गोरखाले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न स्थानमा थप ६ वटा पक्की पुल निर्माण सम्पन्न गरेको हो।
कार्यालय प्रमुख सन्तोष अर्यालका अनुसार अघिल्लो आर्थिक वर्षमा तीनवटा मात्रै पक्की पुल निर्माण भएका थिए। गत आर्थिक वर्षमा पुल निर्माणको संख्या दोब्बर भएर ६ पुगेको हो।
उनका अनुसार नयाँ पुल निर्माण भएपछि सडक सञ्जाल विस्तार हुनुका साथै वर्षायाममा खोलानाला पार गर्नुपर्ने समस्या रहेका क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ।
पूर्वाधार विकास कार्यालयका इन्जिनियर मोहन श्रेष्ठका अनुसार गत वर्ष सम्पन्न भएका ६ पुलमध्ये चारवटाको लागत पाँच करोड रुपैयाँभन्दा बढी र दुईवटाको लागत पाँच करोड रुपैयाँभन्दा कम छ।
कुन–कुन ठाउँमा बने पुल?
गत आर्थिक वर्षमा नयाँसाँघुस्थित दरौँदी नदी पुल, गोरखा नगरपालिका र सहिद लखन गाउँपालिका जोड्ने लुदी खोला पुल, पालुङटार नगरपालिका–९ को तल्लो सेरा–माथिल्लो सेरा जोड्ने चुक्तिखोला पुल र धार्चे गाउँपालिका–७ को नौली खोला मोटरेबल पुल निर्माण सम्पन्न भएका छन्।
त्यस्तै, गोरखा नगरपालिका–१४ को सलाङगिरी र पालुङटार नगरपालिका–८ को रातमाटे जोड्ने सिलीखोला पुल तथा कटजाले–नयाँगाउँ जोड्ने तादीखोला पुल पनि निर्माण सम्पन्न भएका छन्।
पुल निर्माणपछि जिल्लाका ग्रामीण सडक बाह्रै महिना सञ्चालन गर्न, कृषि उत्पादन बजारसम्म पुर्याउन तथा स्थानीयको दैनिक आवतजावत सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
८३ प्रतिशत वित्तीय प्रगति
कार्यालयले गत आर्थिक वर्षमा समग्रमा ८३.२ प्रतिशत वित्तीय प्रगति गरेको जनाएको छ। कार्यालयले प्राप्त एक अर्ब ६५ करोड १७ लाख रुपैयाँमध्ये एक अर्ब ३७ करोड ५५ लाख रुपैयाँ खर्च गरेको हो।
पुँजीगततर्फ विनियोजित एक अर्ब ६३ करोड तीन लाख ५० हजार रुपैयाँमध्ये एक अर्ब ३६ करोड ४३ लाख ६९ हजार रुपैयाँ खर्च भएको छ। यो पुँजीगत बजेटको ८३.६९ प्रतिशत हो।
त्यस्तै, चालुतर्फ एक करोड ११ लाख ८८ हजार रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।
पुल निर्माणको संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर हुनु र पुँजीगत बजेटको ८३ प्रतिशतभन्दा बढी खर्च हुनुले गोरखाको सडक तथा भौतिक पूर्वाधार निर्माणले गति लिएको देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्