काठमाडौं । देशका विभिन्न स्थानमा शनिबार दिउँसो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भारी वर्षासमेत भइरहेको छ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशका केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ। शनिबार दिउँसो ३ः२० बजे गरिएको मापनअनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको बोल्डेमा ६०.४ मिलिमिटर रेकर्ड भएको छ।
महाशाखाका अनुसार हाल वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थान तथा कोसी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि मध्यम वर्षा भइरहेको छ।
वाग्मती प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।
मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी समयमा पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। भारी वर्षा हुने क्षेत्रमा पहिरो, बाढी तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्