काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले जेनजी आन्दोलनले लोकतान्त्रिक दलहरूलाई कमजोर बनाउने अवस्था सिर्जना गरेको टिप्पणी गरेको छ। नेता विमलेन्द्र निधिले राष्ट्रिय भेलामा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आन्दोलनको प्रभाव नेपाली कांग्रेसभित्र पनि परेको र पार्टी आन्तरिक विग्रहमा फसेको उल्लेख गरिएको छ।
प्रतिवेदनमा जेनजी आन्दोलनका नाममा भएको घटनाक्रमले नेपाली कांग्रेसलाई गम्भीर राजनीतिक संकटतर्फ धकेलेको दाबी गरिएको छ। ‘जेन जी घटनाको नाममा नेपालको अस्मितामाथि धावा बोल्ने गरी मञ्चन भएको त्यो खेलले नेपाली कांग्रेसलाई विग्रहको भुमरीमा पुर्याएको छ,’प्रतिवेदनमा भनिएको छ।
निधिको प्रतिवेदनले आन्दोलनको उद्देश्य र त्यसबाट उत्पन्न राजनीतिक परिणामबारे समेत प्रश्न उठाएको छ। आन्दोलन वास्तवमै राष्ट्रिय, देशभक्तिपूर्ण र लोकतान्त्रिक शक्तिहरूलाई कमजोर बनाउने उद्देश्यले अघि बढाइएको थियो कि कांग्रेसभित्रकै महत्वाकांक्षी समूहले त्यसलाई आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने अवसरका रूपमा प्रयोग गरेको थियो भन्ने प्रश्न प्रतिवेदनमा उठाइएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘जसको उद्देश्य राष्ट्रिय, देशभक्तिपूर्ण र लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस र अन्य दलहरूलाई धराशायी बनाउनु थियो कि ? अथवा अन्यत्र क्षेत्रमा जस्तै गरी कांग्रेसभित्रको महत्वाकांक्षी चिन्तनले जेनजी घटनाको सहारामा आफ्नो महत्वाकांक्षा पूरा गर्ने योजना बुनेको थियो ? यी प्रश्नको उत्तर क्रमशः खुल्दै जानेछ।’
यसरी कांग्रेस इतर समूहले जेनजी आन्दोलनलाई केवल सडकमा भएको राजनीतिक आन्दोलनका रूपमा नभई त्यसपछि विकसित भएको पार्टीभित्रको शक्ति संघर्षसँग समेत जोडेर विश्लेषण गरेको छ।
रूपान्तरण र नेतृत्व हस्तान्तरणमा सकारात्मक, तर विशेष महाधिवेशन अस्वीकार्य
राजनीतिक प्रतिवेदनले कांग्रेसभित्र रूपान्तरण र नेतृत्व हस्तान्तरणको आवश्यकता स्वीकार गरेको छ। तर नेतृत्व परिवर्तनको प्रक्रिया पार्टीको विधान र स्थापित विधिअनुसार हुनुपर्नेमा जोड दिइएको छ।
विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई भने इतर समूहले स्वीकार नगर्ने स्पष्ट धारणा अघि सारेको छ। प्रतिवेदनमा विशेष महाधिवेशन विधि र प्रक्रिया मिचेर आयोजना गरिएको दाबी गर्दै त्यसबाट बनेको नेतृत्वलाई वैधानिक रूपमा स्वीकार गर्न नसकिने उल्लेख गरिएको छ।
यसले कांग्रेसभित्रको विवाद केवल नेतृत्व परिवर्तनको विषय नभई परिवर्तनको प्रक्रिया र त्यसको वैधानिकतासँग जोडिएको संघर्ष भएको देखाएको छ।
इतर समूहले एकातर्फ पार्टीमा नयाँ पुस्ताको नेतृत्व र रूपान्तरणको आवश्यकतालाई स्वीकार गरेको छ भने अर्कोतर्फ त्यसका लागि विधानसम्मत बाटो अपनाउनुपर्ने अडान दोहोर्याएको छ। यसले कांग्रेसको आगामी महाधिवेशनसम्म पार्टीभित्रको नेतृत्व संघर्ष, विशेष महाधिवेशनको वैधानिकता र जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिबीचको सम्बन्ध थप बहसको विषय बन्ने संकेत गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्