काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन्।
चीनको ग्वाङझाउमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीको वातावरण निर्माण भइरहेको बताए।
सरकारले देशमै रोजगारी सिर्जना गर्ने तथा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिको क्षेत्रमा काम गर्न प्रोत्साहन गरिरहेको भन्दै उनले प्रवासी नेपालीलाई पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापनका क्षेत्रमा लगानी गर्न आग्रह गरे।
“प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्। पर्यटन, सूचना प्रविधि क्षेत्रमा, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषिमा र आयात प्रतिस्थापन हुने क्षेत्रहरूमा लगानी गर्नुहोस्,” उनले भने।
लगानीमैत्री वातावरण बनाउँदै सरकार
अर्थमन्त्री वाग्लेले सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको दाबी गरे। बजेटमार्फत २७ वटा नयाँ कानुन ल्याएर लगानीमैत्री वातावरण निर्माण गर्न काम भइरहेको उनले बताए।
सम्मानजनक रोजगारी सिर्जना तथा सरकारको आम्दानी बढाउन कर प्रणाली सुधारमा समेत ध्यान दिइएको उनको भनाइ छ।
“पहिलो वर्ष सुधारको सुरुआत गर्यौँ, दोस्रो वर्ष अझै फराकिलो सुधारको काम अघि बढ्नेछ। तेस्रो र चौथो वर्ष सुधारको नतिजा देखिनेछ। चौथो र पाँचौँ वर्षमा यसको प्रतिफल जनताले पाउनेछन्,” वाग्लेले भने।
प्रवासीको पुँजी र ज्ञान आवश्यक
अर्थमन्त्री वाग्लेले आर्थिक विकासका लागि आन्तरिक स्रोत महत्वपूर्ण रहेको बताए। बाह्य लगानीको स्रोत अप्ठ्यारो अवस्थामा रहेकाले प्रवासी नेपालीको पुँजी, सीप र ज्ञान परिचालन गर्नुपर्नेमा उनले जोड दिए।
प्रवासमा रहेका नेपालीको पुँजी तथा लगानी परिचालन गर्ने विषय पार्टीको घोषणापत्रमा समेत समेटिएको र सरकारले त्यसका लागि विशेष पहल गरिरहेको उनले बताए।
रुग्ण उद्योगमा पनि लगानीको अवसर
सरकारले रुग्ण उद्योगलाई पुनर्जीवन दिने तयारी गरिरहेको जानकारी दिँदै वाग्लेले ती उद्योग सञ्चालनमा प्रवासी नेपालीले समेत सहभागिता जनाउन सक्ने बताए।
रुग्ण उद्योगलाई पुनर्ताजगी गरी सञ्चालनका लागि आवश्यक सीप र ज्ञान भएका व्यक्तिलाई सहभागी गराउने सरकारको योजना रहेको उनले बताए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्