काठमाडौं । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा नयाँ सदस्य थप्न, बिमालेख नवीकरण गर्न तथा व्यक्तिगत विवरण अद्यावधिक गर्न अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ। यससँगै सेवाग्राहीले दर्ता सहयोगीको भर नपरी घरबाटै स्वास्थ्य बिमा सम्बन्धी काम गर्न सक्ने भएका छन्।
बोर्डका प्रवक्ता डा. पवनकुमार शाहका अनुसार ‘विद्युतीय माध्यमबाट स्वास्थ्य बिमामा आबद्धता तथा बिमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३’ अनुसार अनलाइन सेवा सुरु गरिएको हो। अब सेवाग्राहीले आफैँ फारम भरेर बिमा आबद्धता तथा नवीकरण गर्न सक्नेछन्।
अनलाइन प्रक्रियाबाट बिमा शुल्क भुक्तानी गर्न इसेवा, खल्ती र कनेक्ट आईपीएस प्रयोग गर्न सकिने बोर्डले जनाएको छ। व्यक्तिगत विवरण अर्थात् केवाईसीसमेत डिजिटल माध्यमबाट अद्यावधिक गर्न सकिनेछ।
५९ लाखभन्दा बढी आबद्ध
बोर्डका अनुसार हालसम्म ५९ लाख ७० हजार ४०३ जना नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्।
स्वास्थ्य बिमा योजनाअन्तर्गत पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ योगदान रकम तिरेमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा पाउने व्यवस्था छ। परिवारमा थप सदस्य थपिँदा प्रतिव्यक्ति ७०० रुपैयाँका दरले योगदान रकम बढ्ने र सेवा सुविधा पनि सोहीअनुसार थपिने प्रावधान छ।
यस्तै, बोर्डले आठ प्रकारका कडा रोगका बिरामीलाई थप १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्