काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानीका लागि उपयुक्त वातावरण निर्माण भएको दाबी गर्दै प्रवासी नेपालीलाई ढुक्क भएर स्वदेशमा लगानी गर्न आह्वान गर्नुभएको छ।
चीनको ग्वाङजाउमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले पर्यटन, सूचना प्रविधि, स्वच्छ ऊर्जा र उच्च मूल्ययुक्त कृषिलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “प्रवासी साथीहरू, अब ढुक्कसाथ नेपालमा आएर लगानी गर्नुस्।”
सरकारले आर्थिक सुधारका कामलाई तीव्रता दिएको उल्लेख गर्दै वाग्लेले गत जेठ १५ गते सार्वजनिक बजेटमार्फत २७ वटा ऐनमा संशोधन तथा नयाँ कानुन निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।
पाँच वर्षमा आर्थिक सुधारको लक्ष्य
अर्थमन्त्री वाग्लेले चालु बजेटलाई मुलुकको आर्थिक दिशा परिवर्तन गर्ने आधारका रूपमा अघि बढाइएको बताउनुभयो।
सरकारले तय गरेको पाँचवर्षे मार्गचित्रअनुसार पहिलो वर्ष सुधारको आधार तयार गर्ने, दोस्रो र तेस्रो वर्ष सुधारलाई गति दिने तथा अन्तिम दुई वर्ष त्यसबाट प्राप्त प्रतिफल जनतासम्म पुर्याउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो।
सार्वजनिक संस्थान सुधार, पूर्वाधार निर्माणमा निजी वित्त परिचालन तथा कृत्रिम बौद्धिकता (एआई) जस्ता अत्याधुनिक प्रविधिमा युवालाई आकर्षित गर्ने कार्यक्रम अघि बढाइएको उहाँको भनाइ छ।
एनआरएन लगानीलाई प्राथमिकता
वैदेशिक लगानी भित्र्याउन नीतिगत अवरोध हटाउँदै गएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले हालै ‘धितोपत्र बाँडफाँड तथा निष्कासन नियमावली’ संशोधन गरिएको जानकारी दिनुभयो।
संशोधित व्यवस्थाअनुसार एनआरएन इन्भेस्टमेन्ट फन्डबाट जारी हुने सेयरमा ८५ प्रतिशतसम्मको हिस्सा सुनिश्चित गरिएको उहाँले बताउनुभयो। यसले गैरआवासीय नेपालीको लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको सन्देश दिने उहाँको भनाइ थियो।
डायस्पोराको पुँजी, ज्ञान र सीपलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने नीति सरकारको रहेको उल्लेख गर्दै वाग्लेले स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा रोजगारी सिर्जना हुने क्षेत्रमा समेत लगानी गर्न गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्