काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँका विभिन्न बिक्री केन्द्रबाट ६ हजार ८०२ थान खाना पकाउने ग्यास सिलिण्डर बिक्री गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग समन्वय गरी तोकिएका केन्द्रबाट ग्यास वितरण गरिएको निगमले जनाएको छ।
निगमका अनुसार टेकु परिसरबाट सबैभन्दा बढी २ हजार २९० सिलिण्डर बिक्री भएको छ। त्यस्तै, बबरमहलबाट १ हजार ६००, कीर्तिपुरको राधास्वामी केन्द्रबाट ७६२, यातायात कार्यालय चाबहिलबाट ७२० र बालाजुबाट ५०० सिलिण्डर बिक्री गरिएको छ।
यस्तै, साल्ट ट्रेडिङको जडिबुटी र कालिमाटी काउन्टरबाट ३३० थानका दरले ग्यास बिक्री भएको निगमले जनाएको छ।
आइतबार सात स्थानबाट ग्यास वितरण
निगमले आइतबार पनि काठमाडौँ उपत्यकाका सात स्थानबाट ग्यास वितरण गर्ने जनाएको छ।
आइतबार टेकु परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, नयाँ बजार जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरि नगरपालिका परिसर र ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रबाट ग्यास बिक्री गरिनेछ।
निगमले उपभोक्तालाई तोकिएका बिक्री केन्द्रबाट सहज रूपमा ग्यास खरिद गर्न सक्ने जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्