काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी र सडक कटान हुँदा प्रमुख सडकखण्डमा यातायात प्रभावित भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।
सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोकिएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने यातायात सञ्चालन हुनेछ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
पहिरो र सडक कटानले विभिन्न राजमार्ग अवरुद्ध
इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै, सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिँदा कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ।
लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक तथा मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरोका कारण भालुवाङ–लिवाङ सडक र चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।
यात्रा गर्दा सावधानी अपनाउन आग्रह
निरन्तर वर्षाका कारण पहिरो खस्ने, बाढीले सडक कटान गर्ने तथा सडक भासिने क्रम जारी रहेकाले प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझ्न आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालयले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्