काठमाडौं । इरानले आफ्ना तीन सैन्य पाइलटलाई कतारले नियन्त्रणमा लिएर विगत छ महिनादेखि बन्दी बनाएको आरोप लगाउँदै उनीहरूलाई तत्काल रिहा गर्न माग गरेको छ। इरान–अमेरिका युद्धका क्रममा सैन्य अभियान सञ्चालन गर्दा ती पाइलट कतारको नियन्त्रणमा परेको इरानको दाबी छ।
रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का प्रमुखलाई पठाइएको पत्रमा इरानी ब्रिगेडियर जनरल मोहम्मद बागेरजादेहले जवाद सालेही, अब्दुल माजिद दश्तियान र इमरान बेहरौसियनलाई कतारले बन्दी बनाएको उल्लेख गरेका छन्।
उनका अनुसार सन् २०२६ मार्च २ मा कतारी सैन्य बेसविरुद्धको अभियानका क्रममा विमानबाट इजेक्ट भएपछि ती तीन पाइलटलाई कतारले नियन्त्रणमा लिएको हो। सोही अभियानमा मारिएका चौथो पाइलट माजिद काजेमीको शव भने इरानलाई फिर्ता गरिएको उनले बताएका छन्।
अन्तर्राष्ट्रिय कानुन उल्लंघनको आरोप
इरानी सञ्चारमाध्यमले सार्वजनिक गरेको पत्रमा कतारले अन्तर्राष्ट्रिय कानुन र नियमविपरीत बन्दीहरूको आधारभूत अधिकार उल्लंघन गरेको आरोप लगाइएको छ।
ती पाइलटलाई परिवारसँग भेट्न वा सम्पर्क गर्नसमेत अनुमति नदिइएको इरानको दाबी छ। इरानले उनीहरूको अवस्थाबारे जानकारी दिन र तत्काल रिहाइका लागि आवश्यक पहल गर्न आईसीआरसीसमक्ष आग्रह गरेको छ।
कतारद्वारा आरोप अस्वीकार
कतारले भने इरानको आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। कतारका परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद मोहम्मद अल अन्सारीले यस्ता भ्रामक बयानप्रति आश्चर्य व्यक्त गरेका छन्।
उनका अनुसार ती पाइलटहरूले कतारी हवाई क्षेत्र उल्लंघन गरेपछि उनीहरूसँग सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर कुनै प्रतिक्रिया नआएपछि अन्तर्राष्ट्रिय कानुनअनुसार कतारको भूभाग रक्षाका लागि आवश्यक कदम चालिएको उनले बताएका छन्।
अल अन्सारीले कतारका खोज तथा उद्धार टोलीले पाइलटहरूको अवशेष खोज्न आफ्नो जिम्मेवारी पूरा गरेको दाबी गरेका छन्। उनका अनुसार फेला परेको एक पाइलटको अवशेष हस्तान्तरणका लागि कतारले इरानसँग समन्वयको प्रयास गरेको थियो।
कतारले खोज तथा उद्धार अभियानको विवरण समीक्षा गर्न इरानलाई निमन्त्रणा दिए पनि त्यसको जवाफ अझै नआएको अल अन्सारीले बताएका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्