नुवाकोट । नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि काठमाडौं पठाइएकोमा अस्पताल पुर्याएलगत्तै थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती (डङ्गोल) र रामेछापको खाँडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्रीको घटनास्थलमै मृत्यु भएको थियो । काठमाडौंमा उपचारका लागि पठाइएका घाइतेमध्ये थप दुई जनाको समेत मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो ।
दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ की २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ की ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन् । उनीहरूको काठमाडौंमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मीका अनुसार घाइतेहरूलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको थियो । अस्पताल पुगेपछि चिकित्सकले थप दुई जनाको मृत्यु भएको जानकारी प्रहरीलाई दिएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक बिनोद ढकालका अनुसार काठमाडौंँबाट दुप्चेश्वर महादेव दर्शनका लागि तीर्थयात्री बोकेर गएको बा.प्र.०८–००१ ख ००५२ नम्बरको बस थानाभञ्ज्याङमा सडक छेउमा रोकिएको थियो । चालक र यात्रुहरू खाजा खान गएको समयमा बस आफैँ गुडेर अगाडि रोकिराखिएको बा.प्र.०३–००१ ज ११७६ नम्बरको ईभी भ्यानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करपछि बस र भ्यान दुवै सडकबाट करिब ५० मिटर तल खसेका थिए । दुर्घटनापछि उद्धार गरी घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएको थियो ।
प्रहरीले बसका चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का सीताराम आचार्यलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्