काठमाडौँ । नेपालको वामपन्थी आन्दोलनको वर्तमान अवस्था, यसको संकट र आगामी दिशाबारे बहस गर्न नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल र पूर्वमन्त्री तथा नेकपाका नेता शक्ति बस्नेत एउटै मञ्चमा उभिने भएका छन्।
‘वामपन्थी आन्दोलन, अब के गर्ने ?’ विषयमा आयोजना हुन लागेको बहसमा तीनै नेताले समकालीन नेपाली राजनीतिमा वाम आन्दोलनको अवस्था, यसको पुनर्गठन र आगामी सम्भावनाबारे आ–आफ्ना धारणा राख्नेछन्।
समाजवाद अध्ययन केन्द्रको आयोजनामा आइतबार दिउँसो १ बजे काठमाडौँको कार्की ब्याङ्केटमा कार्यक्रम हुँदैछ। आयोजकका अनुसार वाम आन्दोलनको भविष्यबारे राष्ट्रियस्तरको बहस सुरु गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
लामो समयपछि फरक राजनीतिक धारमा रहेका पोखरेल र भुसाल एउटै मञ्चमा देखिन लागेकाले कार्यक्रमलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनीहरूसँगै पूर्वमन्त्री शक्ति बस्नेतको सहभागिताले बहसलाई थप राजनीतिक आयाम दिने अपेक्षा गरिएको छ।
पछिल्लो समय नेपालका वामपन्थी दलहरूबीच एकता, पुनर्गठन र नयाँ राजनीतिक ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला यो कार्यक्रम हुन लागेको हो। निर्वाचनमा कमजोर परिणाम, नेतृत्वप्रतिको असन्तुष्टि, संगठनात्मक संकट र नयाँ पुस्तामा वाम राजनीतिप्रतिको आकर्षण घट्दै गएको विषयले पनि वाम आन्दोलनको भविष्यबारे प्रश्न उठाइरहेको छ।
घनश्याम भुसालले भने वर्तमान नेतृत्व र पुरानै राजनीतिक कार्यशैलीबाट वाम आन्दोलनलाई अगाडि बढाउन कठिन रहेको धारणा राख्दै आएका छन्। उनका अनुसार बदलिँदो राजनीतिक र सामाजिक परिस्थितिअनुसार वाम आन्दोलनको पुनर्गठन आवश्यक छ।
भुसालले पुराना नेतृत्वलाई सम्मानपूर्वक बिदाइ गर्दै नयाँ राजनीतिक सोच, संगठन र नेतृत्व निर्माण गर्नुपर्ने बताउँदै आएका छन्। यथास्थितिमा वाम आन्दोलन अघि बढ्न नसक्ने उनको तर्क छ।
अर्कोतर्फ, एमाले महासचिव शङ्कर पोखरेल पार्टीको संस्थागत नेतृत्व र वर्तमान राजनीतिक धारको प्रमुख प्रतिनिधिका रूपमा बहसमा सहभागी हुँदैछन्। शक्ति बस्नेत पनि माओवादी पृष्ठभूमिको वाम राजनीतिक धारका महत्वपूर्ण नेताका रूपमा कार्यक्रममा सहभागी हुनेछन्।
यस अर्थमा आइतबारको बहस केवल तीन नेताको सामान्य राजनीतिक संवादमा सीमित नहुने देखिन्छ। वाम आन्दोलन विभाजनको निरन्तरता कि पुनःएकीकरण, पुरानो नेतृत्व कि नयाँ पुस्ता, सत्ता केन्द्रित राजनीति कि वैचारिक पुनर्गठन—यी प्रश्न कार्यक्रमका प्रमुख बहसका विषय बन्न सक्नेछन्।
२०७९ को निर्वाचनपछि वाम दलहरूबीचको सम्बन्ध र राजनीतिक समीकरणमा समेत उल्लेख्य परिवर्तन आएको छ। एमालेबाट टिकट नपाएपछि भुसाल नेकपा एकीकृत समाजवादी हुँदै अहिले नेकपा संयुक्तको कार्यवाहक अध्यक्षको भूमिकामा छन्। यस्तो राजनीतिक पृष्ठभूमिमा एमालेका महासचिव पोखरेलसँग एउटै मञ्चमा हुने उनको बहसलाई विशेष चासोका साथ हेरिएको छ।
आयोजक समाजवाद अध्ययन केन्द्रका अध्यक्ष अर्जुन राईका अनुसार कार्यक्रममार्फत वाम आन्दोलनका अगुवाहरूबीच राष्ट्रिय बहसको सुरुआत गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा सहभागी नेताहरूले वामपन्थी आन्दोलनको वर्तमान अवस्था, कमजोरी, सम्भावना र आगामी रणनीतिबारे धारणा राख्नेछन्।
नेपालको वाम राजनीति पछिल्लो समय एकातिर सत्ता र निर्वाचनको अंकगणितमा प्रभावशाली देखिए पनि अर्कोतिर वैचारिक स्पष्टता, संगठनात्मक एकता र जनआधार विस्तारका चुनौतीसँग जुधिरहेको छ। यही सन्दर्भमा ‘वाम आन्दोलन अब के गर्ने?’ भन्ने प्रश्न आफैँमा नेपाली वाम राजनीतिका लागि महत्वपूर्ण राजनीतिक प्रश्न बनेको छ। आइतबारको बहसले त्यसको उत्तर खोज्ने प्रयास गर्नेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्