काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपालनजिक रहेको छ।
महाशाखाले आइतबार बिहान ८ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर साधारणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थान तथा कोसी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै तथा कोसी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै तथा बागमती र गण्डकीका तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्