काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ। साउन २६ गतेदेखि सुरु भएको छदिने एक्स्पोमा अपेक्षाभन्दा उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार शनिबार मात्रै ४२ हजार जनाले एक्स्पो अवलोकन गरेका छन्। यससँगै पाँच दिनमा एक्स्पो अवलोकन गर्नेको सङ्ख्या एक लाख ५० हजार नाघेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले छ दिनमा डेढ लाख दर्शकले एक्स्पो अवलोकन गर्ने लक्ष्य राखेको थियो।
अटोसो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले आफूहरू उत्साहित भएको बताए।
एक्स्पोको पहिलो दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको तथ्यांक छ।
५५ भन्दा बढी ब्रान्डका सवारी
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। विभिन्न कम्पनीले नयाँ मोडल सार्वजनिक गर्दै अवलोकनकर्तालाई आफ्ना स्टलतर्फ आकर्षित गरिरहेका छन्।
हालसम्म विभिन्न ब्रान्डले ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेको आयोजकले जनाएको छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डका साथै नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर र विद्युतीय व्यावसायिक सवारीसाधन एक्स्पोका मुख्य आकर्षण बनेका छन्।
अवलोकनकर्ताले विशेषगरी सवारीसाधनको ब्याट्री क्षमता, मोटर, रेन्ज, बिक्रीपछिको सेवा, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र पुनःबिक्री मूल्यबारे चासो राख्ने गरेका छन्। कम्पनीहरूले ग्राहक आकर्षित गर्न विभिन्न सुविधा र अफरसमेत उपलब्ध गराएका छन्।
हरित तथा प्रविधिमैत्री यातायातमा जोड
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो। दोस्रो संस्करणको एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ।
छदिने एक्स्पो आज साउन ३१ गते समापन हुनेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्