काठमाडौं । एनसेलले देशका विभिन्न स्थानमा तेस्रो पुस्ताको थ्रीजी सेवा बन्द गर्ने कार्यलाई निरन्तरता दिएको छ । कम्पनीले चौथो पुस्ताको फोरजी सेवाको पहुँच विस्तार गर्दै नयाँ प्रविधिमा ग्राहकलाई स्तरोन्नति गर्ने योजनाअनुसार थ्रीजी बन्द गर्न थालेको जनाएको छ ।
कम्पनीका अनुसार भदौ १ गतेदेखि विभिन्न जिल्लाका २०० भन्दा बढी मोबाइल टावरबाट थ्रीजी सेवा बन्द हुनेछ । गण्डकी प्रदेशका गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका पाल्पा र बर्दिया तथा सुदूरपश्चिम प्रदेशको कैलालीका विभिन्न स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्न लागिएको हो ।
एनसेलले फोरजी नेटवर्कलाई थप बलियो बनाउँदै भ्वाइस तथा डेटा सेवाको गुणस्तर सुधार गर्न थ्रीजी बन्द गर्दै गएको जनाएको छ । कम्पनीका अनुसार फोरजी सेवा देशको करिब ९५ प्रतिशत जनसंख्यासम्म विस्तार भइसकेको छ ।
भोल्टे सेवा लिन आग्रह
थ्रीजी बन्द भएपछि फोरजी नेटवर्कमा भ्वाइस कलका लागि ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधि प्रयोग गर्न सकिनेछ । भोल्टेबाट उच्च गुणस्तरको भ्वाइस कल तथा छिटो कल कनेक्सन हुने कम्पनीले जनाएको छ ।
भोल्टे सेवा सक्रिय गर्न १२३११# डायल गर्न सकिनेछ । सेवा सक्रिय भएपछि मोबाइलको सेटिङमा गएर भोल्टे अन गर्नुपर्ने हुन्छ ।
भोल्टे प्रयोग गर्न फोरजी सपोर्ट गर्ने मोबाइल, फोरजी सिम वा ई–सिम र फोरजी नेटवर्क उपलब्ध हुनुपर्नेछ ।
एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारका अनुसार कम्पनीले योजना अनुसार काम गर्न सके सन् २०२७ को पहिलो त्रैमासिकभित्र नेपालमा थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्न सक्नेछ ।
कुन–कुन स्थानमा बन्द हुँदैछ थ्रीजी ?
गोरखाका गोरखा, आरुघाट, शहीद लखन, भीमसेन थापा र धार्चेलगायत स्थानीय तहमा थ्रीजी सेवा बन्द हुनेछ । लमजुङका मर्स्याङ्दी, दूधपोखरी, दोर्दी, राइनास र बेँसीसहरलगायत क्षेत्रमा पनि सेवा बन्द हुने कम्पनीले जनाएको छ ।
त्यस्तै, बर्दियाका राजापुर, ठाकुरबाबा, मधुवन, गुलरिया र गेरुवा तथा पाल्पाका तानसेन, रामपुर, तिनाउ, रम्भा र पूर्वखोलालगायत स्थानीय तहमा थ्रीजी बन्द हुनेछ ।
सुदूरपश्चिमको कैलालीका टीकापुर, लम्कीचुहा, भजनी, जानकी र जोशीपुरलगायत स्थानीय तहमा पनि भदौ १ गतेदेखि थ्रीजी सेवा बन्द हुने बताइएको छ ।
थ्रीजीका लागि प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी सेवामा प्रयोग गरिने कम्पनीले जनाएको छ । यसबाट उच्च गतिको मोबाइल डेटा र भोल्टेमार्फत गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउने लक्ष्य एनसेलको छ ।
यसअघि पनि एनसेलले असार र माघमा विभिन्न जिल्लाका स्थानीय तहमा चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गरेको थियो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्