बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेका छन् ।
एसईई उत्तीर्ण गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई विद्यालयको शैक्षिक वातावरण, अध्ययन पद्धति तथा उच्च शिक्षाका अवसरबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
विद्यालयमा शिक्षा, मानविकी, विज्ञान र व्यवस्थापन संकायअन्तर्गत कक्षा ११ र १२ को पठनपाठन हुँदै आएको छ । सदरमुकाम तथा ग्रामीण क्षेत्रका विभिन्न विद्यालयबाट आएका नयाँ विद्यार्थीलाई विद्यालयको वातावरणसँग परिचित गराउने, अध्ययनप्रति प्रेरित गर्ने र माथिल्लो कक्षाका विद्यार्थीबीच आत्मीयता बढाउने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम कक्षा १२ व्यवस्थापन समूहकी इशानी पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । कृष्ण बिक र मेलिना पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए ।
रमाएर पढ्ने वातावरण आवश्यक
कार्यक्रममा बागलुङ नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले रमाइलो वातावरणमा अध्ययन गर्दा विद्यार्थीको सिकाइ गुणस्तर बढ्ने र विद्यालयप्रति विश्वाससमेत बढ्ने बताए ।
विद्यालयले विद्यार्थीलाई पढाइप्रति आकर्षित गर्ने तथा सहज रूपमा सिक्ने वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।
शुभकामना तथा सांस्कृतिक प्रस्तुति
कार्यक्रममा बागलुङ नगरपालिका–३ का वडाध्यक्ष सनि केसी लक्ष्मण, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठ, प्रधानाध्यापक छविरमण रेग्मी र सहायक प्रधानाध्यापक मुकुन्दप्रसाद शर्मालगायतले नयाँ विद्यार्थीलाई शुभकामना दिएका थिए ।
कलाकार शान्ता रानी परियारले गीत तथा संगीत प्रस्तुत गरी कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएकी थिइन् । कार्यक्रममा विद्यालयका सयौँ विद्यार्थीको सहभागिता थियो ।
विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्म एक हजार चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्