काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सुदूरपश्चिम भ्रमणमा रहेको टोलीका सबै सदस्यलाई भाइरल ज्वरो देखिएको छ ।
भौतिक पूर्वाधारको अवस्था र स्थानीयका समस्या बुझ्न सुदूरपश्चिम भ्रमणमा रहेका बेला मन्त्री लम्सालसहित टोलीका सदस्यहरूलाई एकैपटक भाइरल ज्वरो देखिएको मन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।
उनका अनुसार मन्त्रीसहित टोलीका सबै सदस्यको स्वास्थ्य अवस्था सामान्य रहेको छ । चिकित्सकले केही दिन आराम गर्न सुझाव दिएको बताइएको छ । काठमाडौं पुगेपछि मन्त्री लम्साल भैँसेपाटीस्थित सरकारी क्वाटरमा आराम गर्नेछन् ।
“मन्त्रीज्यूसहित भ्रमण टोलीका सबैलाई भाइरल भएको रहेछ । स्वास्थ्य अवस्था जोखिमपूर्ण अवस्थामा रहेनछ,” सचिवालयका ती सदस्यले भने, “उहाँलाई केही दिन आराम जरुरी रहेछ । क्वाटरमै गएर आराम गर्नुहुनेछ ।”
दार्चुला हुँदै बैतडी पुगेका बेला मन्त्री लम्साल अस्वस्थ भएका थिए । त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बैतडीबाट कैलालीको धनगढी ल्याइएको थियो ।
धनगढीबाट मन्त्री लम्साल नेपाली सेनाको स्काइट्रकमार्फत काठमाडौं फर्किएका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्