काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यसको प्रभावले पश्चिम नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको छ। पछिल्लो समयमा बैतडी, कञ्चनपुर, कैलाली, बर्दिया, स्याङ्जा र नवलपुरलगायत क्षेत्रमा अत्यधिक वर्षा मापन भएको छ।
दिउँसोको मौसम
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
तराई क्षेत्रमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थान तथा मधेश प्रदेशसहित कोशी र बागमतीका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको मौसम
आज राति हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा तथा हिमपात हुने सम्भावना छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना भएका क्षेत्रमा बाढी, पहिरो तथा सडक अवरोधको जोखिम रहने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन आवश्यक छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्