काठमाडौं । राष्ट्रियसभा सदस्य गीता देवकोटाले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै समस्या जनताको चुलोमा मात्र देखिएको भन्दै प्रश्न गरेकी छन्।
नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य रहेकी देवकोटाले सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै ग्यासको अभावका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको तर सरकारमा भने त्यसको प्रभाव नदेखिएको टिप्पणी गरिन्।
उनले अहिले देखिएको अवस्था वास्तविक ग्यास अभाव हो वा सरकारी व्यवस्थापनको कमजोरी भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताइन्।
‘ग्यासको अभाव हो कि सरकारको व्यवस्थापन कमजोरी?’ प्रश्न गर्दै देवकोटाले भनिन्, ‘तत्काल डिलरहरूमार्फत बिक्रीको व्यवस्था मिलाइयोस्, बालबच्चा बोकेर ग्यासको लाइनमा बस्ने अवस्थाको अन्त्य गरियोस्।’
‘अभाव हो भने सरकारलाई असर किन देखिएन?’
देवकोटाले ग्यास अभाव वास्तवमै भएको हो भने त्यसको असर सरकार र सरकारी संयन्त्रमा समेत देखिनुपर्ने बताइन्।
सर्वसाधारणले घण्टौँसम्म लाइन बस्नुपर्ने, ग्यास नपाएर खाना पकाउन समस्या हुने र दैनिक जीवन प्रभावित हुने अवस्था सिर्जना हुँदा सरकारले प्रभावकारी आपूर्ति व्यवस्थापन गर्न नसकेको उनको आरोप छ।
उनले ग्यास वितरण प्रणालीलाई व्यवस्थित गर्दै उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरिन्।
बालबच्चा बोकेर लाइन बस्नुपर्ने अवस्था अन्त्य गर्न माग
सांसद देवकोटाले ग्यास वितरणमा देखिएको अव्यवस्था अन्त्य गरी डिलरमार्फत नियमित बिक्री सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।
विशेषगरी महिला तथा बालबालिकासहित सर्वसाधारणले ग्यासका लागि लामो समय लाइन बस्नुपर्ने अवस्थालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ।
ग्यासजस्तो दैनिक उपभोगको अत्यावश्यक वस्तुमा अभाव देखिँदा सरकारले आपूर्ति प्रणालीको अनुगमन, वितरण व्यवस्थापन र वैकल्पिक उपाय तत्काल अघि बढाउनुपर्ने देवकोटाको माग छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्