काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आएका सेठले सोमबार जंगी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार हस्तान्तरण गरिएका सैनिक तथा स्वास्थ्य सामग्रीको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। सामग्रीमा के–के सामान समावेश छन् भन्नेबारे थप जानकारी पछि दिइने सेनाले जनाएको छ।
नेपाल भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष सेठले प्रधानसेनापति अशोकराज सिग्देलसँग शिष्टाचार भेट गरेका छन्।
जंगी अड्डामा भएको भेटमा नेपाल–भारतबीचको आपसी हित तथा द्विपक्षीय सैन्य सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
भेटअघि सेठलाई जंगी अड्डामा गार्ड अफ अनर प्रदान गरिएको थियो।
टुँडिखेलमा माल्यार्पण, जंगी अड्डामा वृक्षारोपण
नेपाल आइपुगेपछि भारतीय सेनाध्यक्ष सेठले सैनिक मञ्च टुँडिखेलमा पुगेर वीर सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
त्यसपछि जंगी अड्डा परिसरमा उनले वृक्षारोपणसमेत गरेका थिए।
मानार्थ महारथीको सम्मान
भारतीय स्थल सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
नेपाल र भारतका सेनापतिलाई एकअर्काको देशको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने लामो समयदेखिको परम्पराअनुसार सेठलाई उक्त सम्मान प्रदान गर्न लागिएको हो।
प्रधानसेनापति सिग्देलको निमन्त्रणामा सेठ तीनदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्