काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारलाई पाँचै वर्षसम्म निरन्तरता दिनुपर्ने बताएका छन्।
कांग्रेस केन्द्रीय समितिको बैठक समापनपछि पत्रकारहरूसँग कुरा गर्दै सभापति थापाले सरकारको कार्यकाल पूरा हुनुपर्ने धारणा राखेका हुन्। उनले रास्वपा नेतृत्वको सरकारलाई बीचमै अस्थिर बनाउने खेलमा कांग्रेस सहभागी नहुने स्पष्ट पारे।
“रास्वपाको यो सरकार निर्वाधरूपले पाँच वर्ष चल्नुपर्छ,” थापाले भने, “अर्को चुनाव यो सरकारले गराउनुपर्छ। त्यो चुनावमा हामीले नागरिकलाई विश्वास दिलाउने हो।”
उनका अनुसार कांग्रेसले सरकारभित्रको आन्तरिक असमझदारी वा बेमेलबाट राजनीतिक लाभ लिने प्रयास गर्ने छैन। लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन सरकारलाई आफ्नो कार्यकाल पूरा गर्न दिनुपर्ने उनको भनाइ छ।
“आन्तरिक बेमेलमा हामी खेल्दैनौँ,” थापाले भने।
थापाले नेपालमा विगतमा पनि बहुमतको सरकार बनेको भए पनि त्यसले राजनीतिक द्वन्द्व व्यवस्थापन गर्न नसक्दा लोकतन्त्रले मूल्य चुकाउनुपरेको उल्लेख गरे।
उनले सरकार र विपक्षीबीच तत्काल राजनीतिक लाभ लिने प्रवृत्तिले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने खतरा रहेको बताए।
“नेपालमा पहिला पनि बहुमतको सरकार बन्यो। त्यो सरकारले द्वन्द्वको व्यवस्थापन गर्न सकेन,” उनले भने, “विपक्षमा रहेकाले पनि तत्काल लाभ हुन्छ कि भन्ने सोच्यो। यसले गर्दा प्रजातन्त्रले मूल्य चुकाउनुपर्यो।”
थापाको यो भनाइसँगै कांग्रेसले वर्तमान सरकारलाई तत्काल ढाल्ने वा सरकार परिवर्तनका लागि राजनीतिक चलखेल गर्नेभन्दा आगामी निर्वाचनमा जनतामाझ जाने रणनीति लिन खोजेको संकेत देखिएको छ।
निर्वाचनबाट जनताको विश्वास जित्ने दाबी
कांग्रेस सभापति थापाले आगामी निर्वाचनलाई सरकारको कामको मूल्यांकन गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। उनका अनुसार रास्वपा नेतृत्वको सरकारले आफ्नो कार्यकाल पूरा गरी निर्वाचन गराए कांग्रेसले आफ्ना नीति, कार्यक्रम र नेतृत्वका आधारमा नागरिकको विश्वास जित्ने प्रयास गर्नेछ।
सरकारलाई पूरा कार्यकाल काम गर्न दिने र त्यसपछि निर्वाचनमार्फत जनमत प्राप्त गर्ने थापाको अभिव्यक्तिले नेपाली कांग्रेस तत्काल सत्ता समीकरण परिवर्तनको पक्षमा नरहेको सन्देश दिएको छ।
यद्यपि, सरकारको कार्यसम्पादन, आन्तरिक राजनीतिक समीकरण र संसद्मा विकसित हुने घटनाक्रमले आगामी दिनमा सत्तापक्ष र विपक्षीबीचको सम्बन्ध कस्तो हुन्छ भन्ने निर्धारण गर्नेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्