काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को विरोध गर्ने क्रम अन्त्य गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले सदनमा उठेका विषयमा प्रधानमन्त्रीलाई जवाफ दिन निर्देशन दिएपछि विपक्षी सांसदहरूले विरोध रोकेका हुन्।
यसअघि प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएको भन्दै विपक्षी सांसदहरूले प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आ–आफ्नो स्थानबाट उठेर विरोध जनाउँदै आएका थिए।
सभामुख अर्यालले सोमबारको बैठकमा प्रधानमन्त्री शाहलाई जेठ १० गते प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिएका थिए। त्यसपछि मंगलबारदेखि विपक्षी सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोध गर्न छाडेका हुन्।
विद्युतीय चुलो प्रवर्द्धन गर्न सांसदको माग
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले खाना पकाउने ग्यासको विकल्पका रूपमा विद्युतीय चुलोको प्रयोग बढाउन सरकारसँग माग गरेका छन्।
आकस्मिक समयमा बोल्दै सांसद श्रीराम न्यौपानेले वातावरण प्रदूषण नियन्त्रण तथा ग्यास आयात प्रतिस्थापनका लागि विद्युतीय चुलोको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए।
‘वातावरण प्रदूषण नियन्त्रण गर्न र ग्यास आयात प्रतिस्थापन गर्न विद्युतीय चुलोमा जानुपर्छ,’ उनले भने।
पहिरो, सडक दुर्घटना र जङ्गली हात्तीको समस्या उठ्यो
सांसद धनबहादुर बुढाले डोल्पामा पहिरोका कारण सडक अवरुद्ध हुँदा खाद्यान्न तथा विकास निर्माण सामग्री ढुवानीमा समस्या भएको बताए। उनले विपद् प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरे।
सांसद प्रेमबहादुर बयकले सडक दुर्घटनाबाट हुने मृत्युको संख्या बढिरहेको भन्दै सडक सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिए।
त्यस्तै, सांसद प्रकाश पाठकले झापामा जङ्गली हात्तीका कारण स्थानीयवासी समस्यामा परेको बताए। उनले बस्तीमा प्रवेश गर्ने हात्तीको व्यवस्थापनका लागि प्रभावकारी उपाय अपनाउन सरकारसँग माग गर्दै परिणाममुखी काम गर्न आग्रह गरे।
सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभाको भोटखोला गाउँपालिकामा अविरल वर्षाका कारण विद्युत् सेवा प्रभावित भएको विषयमा सरकारको ध्यानाकर्षण गराए। विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीयवासी सौर्य ऊर्जामा निर्भर हुनुपरेको भन्दै उनले समस्या समाधानका लागि सरकारको ध्यान जानुपर्ने बताए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्