काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि सभापति गगनकुमार थापाको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले समितिमा अन्य सदस्यहरू पछि थपिने जानकारी दिए।
निर्वाचन समितिको कार्यतालिकाअनुसार मंगलबार वडा तहको अधिवेशन गर्ने तयारी भए पनि असन्तुष्ट पक्षसँग वार्ता गर्नुपर्ने भएकाले तल्लो तहका अधिवेशन केही दिन पछि सारिएको चालिसेले बताए। जिल्लामा खटिएका निर्वाचन अधिकृतहरूलाई मंगलबार प्रशिक्षणसमेत दिइएको छ।
यसअघि प्रशिक्षण कार्यक्रममा सभापति थापाले केन्द्रीय महाधिवेशनको मिति यथावत् राखेर अन्य तहका अधिवेशनको कार्यतालिका मिलाउन निर्वाचन समितिलाई आग्रह गरेका थिए।
पाँचवटा प्रस्ताव पेस हुने
कांग्रेसको १५औँ महाधिवेशनमा पाँच पदाधिकारीले पाँचवटा महत्वपूर्ण प्रस्ताव पेस गर्ने भएका छन्।
- सभापति गगनकुमार थापा — ‘आगामी दशक, लोकतन्त्र र कांग्रेस’ विषयमा मुख्य राजनीतिक प्रस्ताव।
- उपसभापति विश्वप्रकाश शर्मा — ‘राजनीतिक संस्कृतिमा क्षयको प्रवृत्ति र युगानुकूल रूपान्तरण’।
- उपसभापति पुष्पा भुसाल — ‘प्रदेश निर्वाचन विशेष प्रस्ताव’।
- महामन्त्री गुरुराज घिमिरे — संगठनसम्बन्धी प्रस्ताव।
- महामन्त्री प्रदीप पौडेल — विधान संशोधन प्रस्ताव।
प्रवक्ता चालिसेका अनुसार महाधिवेशन असोज १६ गतेदेखि काठमाडौंमा सुरु हुनेछ। तल्लो तहका अधिवेशनको नयाँ मिति भने निर्वाचन समितिले तय गर्नेछ।
प्रचारप्रसारको जिम्मेवारी चालिसेलाई
महाधिवेशनको प्रचारप्रसारको जिम्मेवारी पार्टी प्रवक्ता देवराज चालिसेलाई दिइएको छ। गत साउन २४ देखि भदौ १ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले पाँचवटा प्रस्ताव पेस गर्ने निर्णय गर्दै प्रस्ताव लेखनको जिम्मेवारीसमेत बाँडफाँट गरेको थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्