काठमाडौं । माल्टाबाट बेलायतको बर्मिंघमका लागि उडान भर्न लागेको रायनएयरको विमानमा प्राविधिक समस्या आएपछि यात्रुहरूले लामो समयसम्म असह्य गर्मीमा विमानभित्र बस्नुपरेको बताएका छन्। एयर कन्डिसनिङ प्रणालीले काम नगरेपछि विमान धावनमार्गमै लामो समय रोकिएको थियो।
अत्यधिक गर्मीका कारण विमानभित्र यात्रुको अवस्था बिग्रिँदै गएको र केही यात्रुले गर्मी सहन नसकेर कपडासमेत फुकालेको बताइएको छ। केही यात्रुले बान्ता गरेका थिए भने दुई जना बेहोस भएको यात्रुहरूको दाबी छ।
रिपोर्टअनुसार रायनएयरको उडान नम्बर FR7268 ले अगस्ट १० मा माल्टाबाट बर्मिंघमका लागि उडान भर्नुपर्ने थियो। विमान बिहान ५ः४० बजे उड्ने निर्धारित समय थियो। तर, प्राविधिक समस्याका कारण उडानमा लामो ढिलाइ भएको थियो।
विमान चढ्नुअघि नै सुरु भयो समस्या
१६ वर्षीया यात्रु इभा ग्रेगरीका अनुसार यात्रुको समस्या विमानमा प्रवेश गर्नुअघि नै सुरु भएको थियो। यात्रुहरूलाई करिब ३० मिनेटसम्म एयर कन्डिसनिङ नभएको बसमा राखिएको उनले बताइन्।
त्यसपछि यात्रुहरूलाई अर्को बसमा सारिए पनि त्यहाँको भेन्टिलेसनसमेत पर्याप्त नभएको उनको भनाइ छ। अर्को बसमा पनि करिब आधा घण्टा पर्खिनुपरेको उनले बताएकी छन्।
विमानभित्र प्रवेश गरेपछि भने समस्या झन् गम्भीर बनेको यात्रुहरूले बताएका छन्।
एक घण्टाभन्दा बढी एसीबिनै विमानभित्र
ग्रेगरीका अनुसार विमानमा प्रवेश गर्नेबित्तिकै एयर कन्डिसनिङले काम नगरेको स्पष्ट भएको थियो। प्राविधिक कर्मचारीहरूले समस्या समाधान गर्ने प्रयास गरिरहेका थिए, तर यात्रुहरूलाई विमानबाट बाहिर निकाल्नुको सट्टा विमानभित्रै राखिएको थियो।
एक घण्टाभन्दा बढी समयसम्म एसीबिना विमानभित्र बस्नुपर्दा क्याबिनको तापक्रम लगातार बढ्दै गएको उनले बताइन्।
गर्मी असह्य भएपछि केही यात्रुले कपडा फुकालेका थिए। दुई जना यात्रु बेहोस भएका थिए भने अन्य केहीले बान्ता गरेका थिए।
ग्रेगरी स्वयंको स्वास्थ्यसमेत बिग्रिएको र आफूलाई प्यानिक अट्याक भएको उनले बताइन्। स्वास्थ्य अवस्था बिग्रिए पनि यात्रुहरूलाई पर्याप्त रूपमा निःशुल्क पानीसमेत उपलब्ध नगराइएको उनको आरोप छ।
उडान भरेपछि मात्र चल्यो एसी
रायनएयरले भने उडानमा सुरुमा सामान्य प्राविधिक समस्या आएको र पछि एक यात्रुको स्वास्थ्य अवस्था बिग्रिएपछि थप ढिलाइ भएको जनाएको छ।
एयरलाइनका अनुसार इन्जिनियरहरूले विमानको प्राविधिक परीक्षण गरेपछि उडानका लागि अनुमति दिएका थिए। विमान अन्ततः साँझ करिब ७ बजे माल्टाबाट बर्मिंघमका लागि उडेको थियो।
विमान उडेलगत्तै एयर कन्डिसनिङ प्रणालीले काम गर्न थालेको एयरलाइनले जनाएको छ।
घटनापछि यात्रुहरूले विमान कम्पनीसँग यात्रुको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राख्न तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक व्यवस्था गर्न माग गरेका छन्।
उडानमा भएको लामो ढिलाइ र अत्यधिक गर्मीका कारण यात्रुहरूले भोगेको अवस्थाले विमानको प्राविधिक समस्या मात्र नभई आपत्कालीन अवस्थामा यात्रुको आधारभूत सुविधा र स्वास्थ्य सुरक्षाको व्यवस्थापनमाथि समेत प्रश्न उठाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्