काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पाँच दिनदेखि धर्नामा बसेका सहकारी तथा लघुवित्तपीडितलाई भेटेकी छन्।
पूर्वराष्ट्रपति भण्डारी आइतबार पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग परिसरमा पुगेर धर्नामा रहेका पीडितसँग भेटवार्ता गरेकी हुन्। भेटका क्रममा पीडितहरूले सरकारले आफूहरूका माग तथा तत्कालीन सरकारसँग भएको सहमति कार्यान्वयनमा बेवास्ता गरेको गुनासो गरेका थिए।
धर्नास्थलमा आन्दोलनरत पीडितहरूले सरकार र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरेका छन्। उनीहरूले ‘बालेनले हामीलाई सुनेनन्, एन्टोनियो गुटेरेस तिमीले हाम्रो दुःख–पीडा सुनिदेऊ’ तथा ‘हाम्रो घर छैन, परिवार छैन, नेपालले देखेन, संयुक्त राष्ट्र संघले देखोस् हाम्रो पीडा’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
पीडितहरूले २०८२ माघमा तत्कालीन सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै साउन २९ गते राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएका थिए। त्यसै दिनदेखि उनीहरू आयोगको कार्यालयबाहिर धर्नामा बस्दै आएका छन्।
के छन् पीडितका माग ?
आन्दोलनरत सहकारी तथा लघुवित्तपीडितले तत्कालीन सरकारसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरेका छन्। उनीहरूले सरकारले आफूहरूको माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै असन्तुष्टि जनाएका छन्।
तत्कालीन सरकारसँग भएको सहमतिमा लघुवित्त संस्थाको ब्याजदर नियन्त्रण, ऋण पुनर्संरचना तथा पीडितलाई राहत उपलब्ध गराउनेलगायतका विषय समेटिएका थिए।
पीडितहरूले उक्त सहमति कार्यान्वयन भएपछि मात्रै आफूहरूको समस्या समाधान हुने बताएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्