काठमाडौं । साताको कारोबारको एक दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक १९.३४ अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बजार परिसूचक घटेर २ हजार ६२२.४८ अंकमा झरेको हो।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५५ अंकले घटेर ४६१.०९ अंकमा पुगेको छ। त्यस्तै, फ्लोट परिसूचक १.३० अंकले घटेर १७९.९७ अंकमा पुगेको छ भने सेन्सेटिभ फ्लोट परिसूचक ०.८८ अंकले घटेर १५५.७६ अंकमा कायम भएको छ।
५ अर्बभन्दा बढीको कारोबार
बजारमा आज कुल १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर खरिद–बिक्री भएका छन्। ती सेयरको कुल कारोबार रकम ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।
कारोबार रकमका आधारमा बजारमा लगानीकर्ताको सक्रियता देखिए पनि समग्र परिसूचक भने दबाबमा परेको छ।
१२ उपसमूह घटे
आज कारोबारमा आएका १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ।
समग्र बजारमा ५६ कम्पनीको सेयर मूल्य बढ्दा २१८ कम्पनीको मूल्य घटेको छ। पाँच कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
यसले बजारमा बिक्री चाप तुलनात्मक रूपमा उच्च रहेको देखाएको छ।
सर्वोत्तम पेन्ट्सका लगानीकर्ता अगाडि
आजको कारोबारमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनी र मनकामना इन्जिनियरिङ हाइड्रोपावरका लगानीकर्ताले लाभ कमाएका छन्।
यता सगरमाथा जलविद्युत् कम्पनी, खानीखोला हाइड्रोपावर तथा सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले भने मूल्य घट्दा नोक्सानी व्यहोरेका छन्।
समग्रमा बजार परिसूचकमा दोहोरो अंकको गिरावट आए पनि कारोबार रकम ५ अर्ब रुपैयाँभन्दा माथि रहनुले बजारमा लगानीकर्ताको कारोबार गतिविधि भने निरन्तर रहेको देखिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्