काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकको कार्यसूची टुंगो लगाएको छ। स्थानीय निर्वाचनको तयारी, सांगठनिक व्यवस्थापन, विभिन्न तहका पदाधिकारी तथा सदस्यको मनोनयन र पार्टी दस्तावेज निर्माणलगायत विषय बैठकका मुख्य एजेन्डा छन्।
रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ गते शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने ‘रूपरेखा–२०८३’ अनुमोदन गर्ने प्रस्ताव पेस गरिनेछ। स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया र मापदण्डलाई व्यवस्थित बनाउने उद्देश्यले उक्त रूपरेखा तयार गरिएको हो।
त्यस्तै, केन्द्रीय समिति सदस्य, सचिवालय सदस्य तथा विभिन्न विभागका प्रमुख मनोनयनसम्बन्धी विषयमा पनि बैठकमा छलफल हुनेछ। पार्टीको संगठन विस्तार तथा जिम्मेवारी बाँडफाँटलाई थप व्यवस्थित गर्ने उद्देश्यले मनोनयनको प्रस्ताव अघि सारिएको छ।
स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा त्यसका सदस्यहरूको मनोनयन गर्ने विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ।
यसैगरी, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्य नेतृत्वलाई स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रस्तावसमेत बैठकमा पेस गरिनेछ।
‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्ताव
रास्वपाले पार्टीको आधिकारिक मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावसमेत बैठकमा लैजाने भएको छ।
डिजिटल माध्यममार्फत पार्टीका नीति, विचार, गतिविधि तथा राजनीतिक दृष्टिकोणलाई व्यवस्थित रूपमा सार्वजनिक गर्ने उद्देश्यले पत्रिका प्रकाशन गर्ने तयारी गरिएको हो।
बैठकमा पार्टीका दस्तावेज, संगठन सञ्चालन तथा आगामी राजनीतिक गतिविधिसँग सम्बन्धित अन्य विषयमा समेत छलफल हुने बताइएको छ। विविध विषयसमेत कार्यसूचीमा समावेश गरिएको छ।
स्थानीय निर्वाचनको तयारी तीव्र बनाइरहेको रास्वपाका लागि उम्मेदवार छनोटको मापदण्ड, संगठन विस्तार र निर्वाचन रणनीति तय गर्ने दृष्टिले आगामी केन्द्रीय समिति बैठक महत्वपूर्ण मानिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्