काठमाडौँ । चार दशकभन्दा लामो शैक्षिक विरासत बोकेको पिपल्स क्याम्पसले व्यवस्थापन शिक्षालाई अनुसन्धान, प्रविधि र आर्थिक विकाससँग जोडेर अघि बढाउने भएको छ। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको क्याम्पसले स्मार्ट शिक्षण, अन्तरक्रियात्मक सिकाइ र अनुसन्धानलाई प्राथमिकतामा राख्दै राष्ट्रिय व्यवस्थापन सम्मेलनलगायतका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
४५ वर्षदेखि व्यवस्थापन शिक्षामा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको क्याम्पसले परम्परागत शिक्षण पद्धतिसँगै प्रविधिमैत्री अध्ययन–अध्यापन र अनुसन्धानलाई नियमित कार्यक्रमका रूपमा अघि बढाउने भएको हो। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा क्याम्पसले आगामी शैक्षिक योजनाबारे जानकारी दिएको थियो।
मुनाफा वितरण नगर्ने सामुदायिक संस्थाका रूपमा सञ्चालित क्याम्पसले विगतमा कायम गरेको शैक्षिक गुणस्तर र नतिजालाई निरन्तरता दिन नवीन अभ्यासमा जोड दिने क्याम्पस प्रमुख रोजेश पण्डितले बताए।
उनका अनुसार न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको क्याम्पसका लागि अब विद्यार्थीको नतिजासँगै प्राध्यापकको अनुसन्धान र वृत्ति विकासमा समेत ध्यान दिनुपर्ने आवश्यकता छ। “हिजो विद्यार्थीलाई अब्बल परिणाम हासिल गर्न सहयोग गरे पुग्ने वातावरण थियो भने अब प्राध्यापनमा संलग्न जनशक्तिलाई पनि अनुसन्धानलगायत वृत्ति विकासमा सहभागी गराउनुपर्ने चुनौती छ,” उनले भने।
शैक्षिक कार्यक्रम र छात्रवृत्ति
पिपल्स क्याम्पसमा कक्षा ११ र १२ बाहेक बीबीए, बीबीएम, बीबीएस र एमबीएसका कक्षा सञ्चालनमा छन्। यस वर्ष भर्ना भएका बीबीए, बीबीएम र बीबीएसका विद्यार्थीलाई स्वागत तथा २०७८ सालको ब्याचलाई बिदाइ गर्न आयोजित कार्यक्रममा क्याम्पसले छात्रवृत्तिसम्बन्धी योजनासमेत सार्वजनिक गरेको हो।
काठमाडौं महानगरपालिका र त्रिभुवन विश्वविद्यालयबाट उपलब्ध हुने नियमित छात्रवृत्तिका अतिरिक्त क्याम्पसले थप छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ।
क्याम्पस प्रमुख पण्डितले विद्यार्थीहरू नियमित रूपमा डिन लिस्टमा पर्न सफल हुनु क्याम्पसको शैक्षिक गुणस्तरको प्रमाण भएको बताए। “त्यो गुणस्तरलाई कायम राख्न हामी प्रविधिलाई साथमा लिएर अघि बढ्छौं,” उनले भने।
विद्यार्थी तथा शिक्षकको शैक्षिक र व्यावसायिक विकासका लागि क्याम्पसले व्यवस्थापन सम्मेलन, विज्ञसँग संवाद, डिजिटल साक्षरता तथा पुस्तक अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्राज्ञिक अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय व्यवस्थापन सम्मेलनलाई यस वर्ष पनि निरन्तरता दिइने क्याम्पसले जनाएको छ।
अनुसन्धान र नयाँ कार्यक्रमको तयारी
विद्यार्थीलाई अनुसन्धानतर्फ अभिमुख गराउने उद्देश्यले राष्ट्रिय व्यवस्थापन सम्मेलन क्याम्पसको नियमित कार्यक्रमका रूपमा सञ्चालन हुँदै आएको छ। क्याम्पसले विद्यार्थीको अध्ययनलाई कक्षाकोठामा सीमित नराखी अनुसन्धान तथा व्यावहारिक सिकाइसँग जोड्ने नीति लिएको जनाएको छ।
हाल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चार वर्षे बीबीएस तथा सेमेस्टर प्रणालीअन्तर्गत चार वर्षे बीबीए र बीबीएम तथा दुई वर्षे एमबीएसका कक्षा सञ्चालन भइरहेका छन्।
क्याम्पसले कम्प्युटर साइन्सअन्तर्गत बीआईटी कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारी पूरा गरी त्रिभुवन विश्वविद्यालयमा निवेदनसमेत दिएको क्याम्पस प्रमुख पण्डितले जानकारी दिए।
परीक्षाफलमा उत्कृष्ट प्रदर्शन
पिपल्स क्याम्पसका विद्यार्थीहरूले पछिल्ला वर्षमा विश्वविद्यालयस्तरीय परीक्षामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। हालै प्रकाशित परीक्षाफलमा बीबीएमका विद्यार्थी सुरजकुमार गुप्ताले ३.९६ ग्रेड प्राप्त गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।
यसअघि बीबीएमतर्फ रोजिन महर्जनले पनि उत्कृष्ट नतिजा हासिल गरेकी थिइन्। त्यस्तै, बीबीएतर्फ आयुशा अधिकारी र सुदीप पाण्डेले उत्कृष्ट प्रदर्शन गरेका थिए।
व्यवस्थापन संकायअन्तर्गत त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट स्थान हासिल गर्ने २०७७ सालको ब्याचका मेरिना कायस्थ र नम्रता कार्की पनि पिपल्स क्याम्पसका विद्यार्थी हुन्।
विद्यार्थीको उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै आगामी दिनमा अनुसन्धान, प्रविधि र व्यावहारिक शिक्षामा थप जोड दिने क्याम्पसको योजना छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्