काठमाडौं । पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक विद्यावारिधि (पीएचडी) तहको अध्ययन कार्यक्रम सञ्चालनमा ल्याएको छ। विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषयमा पीएचडीका लागि आवेदन आह्वान गरेको हो।
विश्वविद्यालयले अनुसन्धानमा रुचि भएका तथा सम्बन्धित विषयमा बलियो शैक्षिक पृष्ठभूमि भएका योग्य उम्मेदवारबाट आवेदन माग गरेको जनाएको छ। इच्छुक उम्मेदवारले २०८३ भदौ ९ गते शुक्रबारसम्म आवेदन दिन सक्नेछन्।
पीएचडी प्रवेश परीक्षा २०८३ भदौ १२ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ, ढुंगेपाटन, कास्कीमा सञ्चालन हुनेछ।
विश्वविद्यालयका अनुसार व्यक्तिगत अन्तर्वार्ताको मिति प्रवेश परीक्षाकै दिन घोषणा गरिनेछ। पीएचडी कार्यक्रममा आवेदन दिन ३ हजार रुपैयाँ आवेदन शुल्क तोकिएको छ।
इन्जिनियरिङका क्षेत्रमा उच्चस्तरीय अनुसन्धान र जनशक्ति उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले विश्वविद्यालयले पहिलोपटक पीएचडी कार्यक्रम सुरु गरेको हो। सिभिल तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा अनुसन्धान गर्न इच्छुक योग्य उम्मेदवारले विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमार्फत आवेदन दिन सक्नेछन्।
विश्वविद्यालयले आवेदन प्रक्रिया, आवश्यक शैक्षिक योग्यता, प्रवेश परीक्षा तथा अन्य मापदण्डसम्बन्धी विस्तृत जानकारी आफ्नो आधिकारिक सूचनामार्फत उपलब्ध गराएको जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्