काठमाडौं । गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालाले शिक्षकको पेसागत विकास, क्षमता अभिवृद्धि तथा करियर विकासलाई प्राथमिकतामा राखेर विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने गरी आगामी शिक्षा ऐन बनाउन सुझाव दिएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत मंगलबार पोखरामा आयोजित छलफल तथा अन्तरक्रियामा सहभागीले विद्यालय शिक्षाका दीर्घकालीन समस्या समाधान हुने गरी स्पष्ट, व्यावहारिक र कार्यान्वयनयोग्य कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन्।
सरोकारवालाले विगतदेखि विद्यालय शिक्षा क्षेत्रमा देखिँदै आएका समस्या दोहोरिन नदिने गरी शिक्षा विधेयक ल्याउनुपर्ने बताएका छन्। शिक्षकको क्षमता विकासलाई निरन्तरता दिनुपर्ने, पेसागत विकास तथा करियर उन्नतिको स्पष्ट व्यवस्था गर्नुपर्ने र विद्यार्थीको सिकाइ उपलब्धिलाई शिक्षा प्रणालीको केन्द्रमा राख्नुपर्ने उनीहरूको सुझाव छ।
विद्यालय र समुदायबीचको सम्बन्ध थप सुदृढ गर्दै विद्यालयप्रति समुदायको अपनत्व र सहभागिता बढाउनुपर्नेमा पनि सहभागीले जोड दिएका छन्।
पोखरास्थित श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयमा प्रधानाध्यापक एसोसिएसन नेपालको सहजीकरणमा आयोजित कार्यक्रममा शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रका विभिन्न अगुवाले आगामी शिक्षा ऐन र विद्यालय सुधारका विषयमा सुझाव दिएका थिए।
कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय शिक्षा महाशाखा प्रमुख शिव सापकोटासहित शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता थियो।
मन्त्रालयले शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य सरोकारवालासँग प्रत्यक्ष संवाद गरी सुझाव संकलन गरिरहेको छ। प्रदेशस्तरबाट प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा समग्र शिक्षा सुधारसम्बन्धी नीतिमा समेट्ने मन्त्रालयको तयारी छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्