काठमाडौँ । पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक विद्यावारिधि (पीएचडी) तहको अध्ययन कार्यक्रम सञ्चालनमा ल्याएको छ। विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषयमा पीएचडीका लागि आवेदन आह्वान गरेको हो।
अनुसन्धानमा रुचि भएका तथा बलियो शैक्षिक पृष्ठभूमि भएका योग्य उम्मेदवारबाट विश्वविद्यालयले आवेदन माग गरेको छ। इच्छुक उम्मेदवारले २०८३ भदौ ९ गते शुक्रबारसम्म आवेदन दिन सक्नेछन्।
पीएचडी प्रवेश परीक्षा २०८३ भदौ १२ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ, ढुंगेपाटन, कास्कीमा सञ्चालन हुनेछ। प्रवेश परीक्षाकै दिन व्यक्तिगत अन्तर्वार्ताको मिति घोषणा गरिने विश्वविद्यालयले जनाएको छ।
पीएचडी कार्यक्रममा सहभागी हुन ३ हजार रुपैयाँ आवेदन शुल्क तोकिएको छ। इच्छुक उम्मेदवारले विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायमार्फत आवेदन दिन सक्नेछन्।
पोखरा विश्वविद्यालयले इन्जिनियरिङ क्षेत्रमा पहिलोपटक पीएचडी कार्यक्रम सञ्चालनमा ल्याएसँगै नेपालमा उच्च तहको प्राविधिक अनुसन्धान र जनशक्ति विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्