काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदहरूको कार्यशैली र संसदमा प्रस्तुत हुने भाषा तथा व्यवहार सुधार गर्ने विषयमा आन्तरिक छलफल गरेको छ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा भएको छलफलमा संसदमा रास्वपाका सांसद तथा मन्त्रीहरूको प्रस्तुति, व्यवहार र जनताका मुद्दा उठाउने शैलीबारे समीक्षा गरिएको हो।
पछिल्लो समय संसदमा हुने प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदलाई चेतावनीपूर्ण वा रुखो शैलीमा जवाफ दिने गरेको तथा आफ्ना माग सम्बोधन नभएको अवस्थामा सांसदहरूले पनि अमर्यादित अभिव्यक्ति दिने गरेको भन्दै आलोचना भइरहेको छ। यही पृष्ठभूमिमा रास्वपाले आफ्नै सांसद र मन्त्रीहरूको प्रस्तुतिबारे समीक्षा गरेको हो।
भाषा र व्यवहारमा संयमता अपनाउन निर्देशन
बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद तथा मन्त्रीहरूले संयमित, जिम्मेवार र मर्यादित भाषा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।
जनताका समस्या र सार्वजनिक सरोकारका विषयलाई संसदमा प्रभावकारी रूपमा उठाउनुपर्ने भए पनि त्यसका लागि आक्रोश, व्यक्तिगत आरोप वा अमर्यादित शैली अपनाउन नहुने सन्देश पार्टी नेतृत्वले दिएको छ।
रास्वपाका सांसदहरू संसदीय समिति तथा संसदका बैठकमा असन्तुष्टि व्यक्त गर्दा कतिपय अवस्थामा शैलीगत सन्तुलन गुमाएको भन्दै आलोचना हुँदै आएको छ। पार्टी नेतृत्वले त्यसलाई सच्याउँदै संसदमा आफ्नो उपस्थिति थप प्रभावकारी बनाउन सांसदहरूलाई सचेत गराएको हो।
सत्तारुढ दलका लागि शैली नै राजनीतिक परीक्षा
रास्वपा सरकारको नेतृत्वमा आएपछि उसका मन्त्री र सांसदको संसदीय प्रस्तुति राजनीतिक रूपमा थप निगरानीमा छ। प्रतिपक्षमा रहँदा सरकारका कामकारबाहीमाथि आक्रामक प्रश्न उठाउने शैली अपनाएको रास्वपामाथि अहिले भने सत्तामा पुगेपछि आफ्नै व्यवहार र कार्यशैलीमा कति सुधार ल्याउन सक्छ भन्ने चुनौती छ।
त्यसैले पछिल्लो छलफललाई सामान्य आन्तरिक बैठकभन्दा पनि पार्टीको संसदीय भूमिकालाई पुनः व्यवस्थित गर्ने प्रयासका रूपमा हेरिएको छ। जनताका मुद्दा उठाउने क्रममा आक्रामकता र प्रभावकारिताबीच सन्तुलन कायम गर्न सके मात्रै रास्वपाले आफूले दाबी गर्दै आएको नयाँ राजनीतिक संस्कारलाई व्यवहारमा पुष्टि गर्न सक्नेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्